हेटौंडा - पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक जिल्ला फुटबल संघ मकवानपुरले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
माघ २८ गतेदेखि फागुन १० गतेसम्म हुने प्रतियोगितामा आयोजक मकवानपुर-११,नव जनजागृती युवा क्लब सिमरा, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, सातदोबाटो क्लब ललितपुर, मनाङ् मस्र्याङ्दी क्लब काठमाडौं, फ्रेण्ड्स क्लब ललिततपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, एनआरटी क्लब काठमाडौं, बागमती युवा क्लव सर्लाही, विरगंज युनाइटेड पर्सा, र एभिनियर एफसी क्यामरुन सहित १० वटा टोलीको सहभागिता रहने जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले जानकारी दिए ।
उद्घाटन खेलमा आयोजक मकवानपुर-११ र जनजागृती युवा क्लब सिमरा भिड्दै छन् । प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।
हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजनमा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट हुने खेलाडी र खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाको मेयर मीनाकुमारी लामाले गर्ने कार्यक्रम तय भएको र प्रतियोगिताको समापन फागुन १० गने एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने तय भएको आयोजकले जनाएको छ । जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा हुने प्रतियोगितामा करिब डेढ करोड खर्च हुने आयोजकको अनुमान छ ।
२०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो । २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११, २०७७ मा तेस्रो संस्करण र चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।