हेटौंडा – मकवानपुर प्रहरीले निषेधित माउर माछाका भुराहरु बरामद गरी नष्ट गरेको छ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टबाट बरामद गरी नष्ट गरेको हो ।
काकडभित्ताबाट हेटौंडातर्फ आउँदै गरेको प्र.१–००६ ख ५२३८ नम्बरको बसलाई चेकजाँच गर्दा भारतीय नागरिक ३२ वर्षीय पुरन चौधरीले बसको डिक्कीभित्र अबैध रुपमा भन्सार छलेर ल्याएको अवस्थामा ८० किलो माउर माछाका भुरा बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त माछाहरु बरामद गरी भेटनरी डक्टर तथा स्थानिय जनप्रतिनिधिको रोहबरमा सुरक्षित स्थानमा खाल्डो पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ । साथै चौधरीलाई आवश्यक कारबाहीको लागी भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौडा, मकवानपुर पठाईएको छ ।