प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा–१५ बाट ठुलो परिमाणमा लागुऔषध बरामद, मुक्तान र स्याङतान प्रहरीको फन्दामा

२०८१ असार १४, बिहीबार ०९:२७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेक पोईन्टबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । चितवनबाट पथलैयातर्फ जादै गरेको ना.५ ख १११८ नम्बरको डिब्बा ट्रकलाई रोकी चेकजाच गर्दा १५५ किलो गाँजा सहित दुई जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


पक्राउ पनेमा ट्रक चालक चितवन राप्ति नगरपालिका–२ गड्यौली बस्ने बर्ष ३६ को सुनिल मुक्तान र उक्त ट्रकमा सवार राप्ति–१ लोथर बस्ने बर्ष २० को अनिल भन्ने धन बहादुर स्याङतान रहेका छन् ।

प्रहरीले बुधबार ट्रकलाई रोकी चेकजाच गर्ने क्रममा उक्त डिब्बा ट्रकको माथी हुटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा रातो प्लाष्टिकमा बेरेर डोरीले बाधेको १६ पोकामा उक्त परिमाणमा गाँजा बरामद गरेको हो । यस बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।