हेटौंडा – १९ औँ धान दिवस तथा असार १५ देशैभर रोपाइँलगायतका विविध कार्यक्रमसहित मनाइँएको छ। यस वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउँदै आएको छ ।
मकवानपुरमा पनि बुधबार धान खेती हुने स्थानमा विभिन्न कार्यक्रमहरु गरी मनाईएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका,मनहरी,मकवानपुरगढी,बकैया र बागमती गाउँपालिकामा बढी धान उत्पादन हुने क्षेत्र हो । सो क्षेत्रमा मकवानपुरे १,सावित्री,वार लगाएतको धानहरु लगाइन्छ ।
जिल्लामा हालसम्म ३५ प्रतिशत धान रोपाई भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत मकवानपुर जिल्लाका प्रमुख केपी पौडेलले बताए । जिल्लामा दुई बाली ११ हजार ३ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुनेमा वर्षे धान ९ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने पौडेलले बताए ।
पौडेलले गत बर्ष जिल्लाभर ४३ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको बताए । यस वर्ष किसानले समयमै रसायनिक मल पाएको अवस्थामा १० प्रतिशत उत्पादनमा वृद्धि हुने उनले दाबी गरे ।