हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ को रामधुनी स्थित हर्नामाडी स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर भवन शिलान्यास गरिएको छ । गोर्खा लाहरी प्रालिको आर्थिक सहयोगमा बन्न लागेको ४ कोठे वर्थिङ सेन्टरको भवन वडाध्यक्ष अनिलकुमार बाँनियाले शिलान्यास गरेका हुन् ।
भवनको शिलान्यास गर्दै वडाध्यक्ष बाँनियाले वर्थिङ सेन्टर निर्माण हेटौंडा १७ र १८,बकैया ६ र मकवानपुगढी १ का स्थानीयलाई थप सहज हुने बताए । उनले भवनको निर्माणपछि स्वास्थ्य चौकीलाई मिनी अस्पतालको रुपमा विकास गर्दै एमबिबिएस डाक्टरसहितको सेवा दिईने समेत बताए ।
लाहरीको सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तर्गत ३० लाख आर्थिक सहयोगमा वर्थिङ सेन्टर निर्माण थालिएको हो । वर्थिङ सेन्टरको भवन निर्माण असोज दोस्रो साता सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । शिलान्यास कार्यक्रममा लाहरीका प्रशासन प्रमुख प्रभाकर भण्डारी,उत्पादन संयोजक विवेश डोटेल लगाएत स्थानीयहरुको सहभागिता रहेको थियो ।