प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा जंगली जनावरको आक्रमणबाट एकको मृत्यु

२०८१ पौष १५, सोमबार ०७:२९ बजे

मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिका–५, बसन्तपुरमा जंगली जनावरको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७२ वर्षीय कान्छीमाया रुम्बा रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वृद्धा दिउँसो घाँस काट्नका लागि घर नजिकै बारी गएकी थिइन्। साँझ अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा घरबाट ५०० मिटर पूर्व हेटौंडा उपमहानगरपालिका–५ बस्ने किशोर बर्तौलाको बारीमा आइतवार साँझ उनको शव फेला परेको थियो। मृतकको शरीरका विभिन्न भागमा चोट लागेको थियो।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक दिलिप पासवानको कमाण्डमा टोली पुगेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार घटना जंगली जनावर, विशेषगरी बाघको आक्रमणबाट मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

थप अनुसन्धान तथा आवश्यक मुचुल्का तयार गर्न प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाको नेतृत्वमा टोली खटिएका छन् ।