हेटौंडा – मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकामा अघिल्लो स्थानीय तहको चुनावमा निकै कडा प्रतिस्पर्धा भयो । नेपाल कम्युनिष्ट पाटी (एमाले) का उम्मेद्वार एकराज उप्रेतीले नेपाली कांग्रेसका उम्मेद्वार शंकर न्यौपानेलाई ३ सय ९ मतले पराजित गरेको थिए । उपाध्यक्षमा एमालेकै मनिला विष्टले कांग्रेसकी कमला कार्कीलाई ४ सय ६४ मतले हराएकी थिइन् ।त्यस्तै गाउँपालिकाको ९ वडामध्ये एमालेले ४, कांग्रेस र माओवादीले दूई–दूई वडा जित्दा एक वडामा एमालेकै बागी उम्मेद्वार विजयी भएका थिए ।
यसरी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, एक बागीसहित ५ वडामा जितेको एमाले यसपटक नतिजालाई निरन्तर कायम राख्ने दौडधुपमा छ । यसका लागि आफ्नो रणनीति जोडबलका साथ प्रयोग गरिरहेको छ । तर, पछिल्लो राजनीतिक घटनाक्रमले अवस्था एमालेले सोचेको जस्तो सहज छैन ।
पार्टी फुटको प्रभाव र सत्तारुढ दलहरूको गठबन्धनले एमालेका लागि सबैभन्दा ठूलो खतरा हुने देखिन्छ । राप्रपालगायत सानो पार्टी र नयाँ थपिएका मतदाताको मत एमालेले सुरक्षित गर्नुपर्ने देखिन्छ । नत्र आगामी स्थानीय तहको चुनावमा गठबन्धनलाई जीत निकाल्न एमालेलाई बालुवाबाट तेल निकाल्नु सरह देखिन्छ ।
यस्तो छ अधिल्लो चुनावको मत परिणाम
विं.सं.२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार उप्रेतीले ४ हजार ६४९ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका न्यौपानेले ४ हजार ३४० मत प्राप्त गरेका थिए ।
त्यस्तै माओवादीका रामहरि सुवेदीले २ हजार ८४८, राप्रपाका गोविन्दप्रसाद रिजालले ८१५ र नयाँ शक्तिका निखिल पौडेलले १७१ मत ल्याएका थिए ।
उपमेयरतर्फ एमालेकी मनिला विष्टले ४ हजार ६३१ प्राप्त गरी बिजयी भएकी थिइन् । त्यस्तै कांग्रेसकी कमला कार्कीले ४ हजार १६७, माओवादीकी चन्द्रकला खनाल लामाले २ हजार ९७६, राप्रपाकी मायाकुमारी न्यौपानेले ७४९, नयाँ शक्तिकी सानुमाया चेपाङले १८४ र जनमोर्चाका श्यामकुमार प्रजाले ३५ मत ल्याएका थिए ।
एमालेले वडा नम्बर ३, ५, ६, ८ र एमालेकै बागी उम्मेद्वारले वडा नं. ९ जितेको थियो । एमाले विभाजनपछि उपाध्यक्ष विष्ट, ९ नम्बरका वडाध्यक्ष नेकपा एसमा गएका छन् । त्यस्तै कांग्रेसले १ र ७ जित्दा माओवादीले २ र ४ मा बाजी मारेको थियो ।
मनहरीमा एमालेले जितेको एक वडामा शुन्यदेखि ५० मतको र तीन वडामा ५१ देखि १०० मतान्तर छ । त्यस्तै कांग्रेसले जितेको वडामा १०० देखि ४०० मतको अन्तर रहँदा माओवादीको १०० देखि २०० मतान्तर छ ।
एमाले–कांग्रेसको कडा प्रतिस्पर्धा
२०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिकामा कुल मतदाता संख्या १८ हजार ७ सय ४ थियो । जसमध्ये १३ हजार ९ सय ६५ (७४.६६ प्रतिशत) मत खसेकोमा १३ हजार ७ सय १२ (९८.१९) मत सदर भएको थियो । २५३ (१.८१) मत बदर भएको थियो ।
२०७४ को निर्वाचन जस्तै यसपटक एमाले–कांग्रेसबीचमै प्रतिस्पर्धा देखिन्छ । आगामी बैशाख ३० मा हुने निर्वाचनमा थपिएको मत निर्णायक हुने देखिन्छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसारमा मनहरीमा ८ हजार भन्दा बढी मतदाता थपिएका छन् । त्यसैले त्यो मत आफ्नो पक्षमा ल्याउन सबै दलले प्रसाय गरिरहेका छन् ।
एक्ला–एक्लै चुनाव लड्ने हो भने पनि एमाले फुटको कारण अघिल्लो चुनावमा दोस्रो स्थानमा रहेको कांग्रेस बलियो देखिन्छ । एमाले फुटपछि मत विभाजनले गर्दा कांग्रेस एक्लै बलियो देखिएको हो । यसपटक गठबन्धन दलभित्र मनहरीमा कांग्रेसकै नेतृत्व अगाडि सभावना बढी छ भन्दा फरक नपर्ला ।
अहिलेको अवस्था हेर्दा गठबन्धन हावी हुने देखिन्छ । अघिल्लो चुनावमा कांग्रेस र माओवादीले पाएको मतसंगै केही नयाँ थपिएका र नेकपा एसको मत तान्दा गठबन्धन हावी हुने देखिएको हो । तालमेल नभएको अवस्थामा भने प्रतिस्पर्धा निकै कडा हुने पक्का छ ।
एमालेलाई भने सत्तारूढ गठबन्धनसँग एक्लै लड्न अत्यन्त कठिन हुने देखिएको छ । एमालेले अघिल्लो चुनावमा पाएको मत जोगाउँदै कांग्रेस–माओवादी केन्द्रले पाएको मत र नयाँ मतदाताको बहुसंख्यक मत तान्नुपर्ने हुन्छ । तर, एमालेले अघिल्लो पटक पाएको मत नै सुरक्षित राख्न पनि चुनौती छ ।
पार्टी विभाजनपछि मकवानपुरमा अन्य स्थानमा भन्दा पनि मनहरीमा नेकपा एसको प्रभाव राम्रो छ । तर, जति हुनुपर्ने हो सोचे बमोजिम मतदाता भने अहिल्यै भन्न सकिने अवस्था छैन । तै पनि नेकपा एसले काट्ने मत एमालेकै हो । एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष सहित केही वडाध्यक्ष एसतिर गएकाले मतदाता उनीहरूसँगै अवश्य जान्छन् । त्यसैले एमालेले यसपटक मनहरी गाउँपालिकामा चुनाव जित्न नयाँ मतदाता रिझाउनुपर्ने अवस्था छ ।
एमालेबाट पाँच नाम चर्चामा
नेकपा एमालेबाट मनहरी गाउँपालिकाको अध्यक्ष बन्न एमालेभित्र ५ जनाको नाम चर्चामा रहेको छ । मनहरीको हालका अध्यक्ष एकराज उप्रेती, एमाले मनहरी गाउँपालिका कमिटीका अध्यक्ष नवीन सुवेदी, पुर्वजिल्ला कमिटी सदस्य जयराम अर्याल, एमाले मनहरीका इञ्चार्ज हेमलाल उप्रेती र एमाले प्रदेश कमिटी सदस्य श्याम ढकालको नाम चर्चामा छ ।
नेपाली कांग्रेसका ३ जना आकांक्षी
२०७४ को निर्वाचनमा झिनो मतान्तरबाट पराजय भोग्न पुगेका शंकर न्यौपाने यो पटकको दाबेदार हुन् । पार्टीले लोकप्रिय र चुनाव जित्ने नेतालाई टिकट दिनपर्छ भन्ने मान्यता राख्ने भरत पराजुली पनि अध्यक्षको दाबेदारीमा छन् । प्रदेश–२ (ख) का सभापति रञ्जन कालाखेतीको पनि अध्यक्षमा नाम चर्चा चलिरहेको अवस्था छ । गत निर्वाचनमा नेकाले पाएको मत र एमालेको बिभाजनले पालिकाको नेतृत्व सजिलै हातपर्ने जोड घटाउमा लागेको कांग्रेसले लोकप्रिय नेता उभ्याउन सक्नु पर्छ ।
एसबाट चार जनाको चर्चा
मनहरी गाउँपालिकाको अध्यक्षमा नेकपा एसबाट ४ जनाको नाम चर्चामा रहेको देखिन्छ । गाउँपालिकाकी उपाध्यक्ष तथा एसकी मनहरी सहइञ्चार्ज मनिला विष्ट, पार्टी मनहरी गाउँ कमिटीका अध्यक्ष नारायण श्रेष्ठ, मनहरी सहइञ्चार्ज वीरेन्द्र डिसी र स्वतन्त्र उठेर वडा नं ९ को अध्यक्षमा निर्वाचित भएका साधुराम अधिकारीको नाम चर्चामा छ ।
माओवादीको पनि ३ जनाको दाबी
गठबन्धनको माहोल के होला ? भन्ने बिषयमा अहिल्यै टुङ्गो लागेको छैन । तैपनि माओवादीका ३ जना नेताले आफ्नो नाम अघि सारेका छन् । रामप्रसाद कालाखेती, बीरबहादुर घलान ज्वाला र संजीव पाठकले अध्यक्षको दाबी गरिरहेका छन् ।
स्थानीय तहको निर्वाचनको लागि मकवानपुरको १० वटै स्थानीय तहको वडास्तरसम्म एमालेविरुद्ध सत्ता गठवन्धन एक भएर जाने निर्णय भएपनि उम्मेद्वार छनोट अन्यौल नै छ । गठबन्धनभित्रका दलका प्रतिनिधिले आफ्नो ठाउँबाट नेतृत्वमा आउँने आकांक्षा ब्यक्त गरिरहेका छन् । पार्टीभित्र विभिन्न नेताहरुबीच टिकटको लबिङ भएपनि नाम भने सार्वजनिक भएको छैन ।
गाउँपालिका अध्यक्षदेखि वडाध्यक्ष पुनः दोहोरिने पक्षमा छन् । उम्मेदवारीको लागि आकाँक्षा ब्यक्त गर्नु एउटा प्रक्रिया हो । चुनावको लागि टिकट कस्ले पाउँछ ? त्यो महत्वपूर्ण पक्ष हो । पार्टीको नेतृत्वकर्ताले कसलाई टिकट दिन्छ त्यो भने र्हेन बाँकी छ । मनहरीमा पनि पार्टी प्रवेश गर्ने र टुक्रिएर जानेहरु चुनावको माहोलमा प्रभावित हुने निश्चित नै छ । तर, हारजितको सुनिश्चित मत हुने भएकोले त्यो चुनावी मत परिणामले नै बताउँछ ।