प्रहर खबर
 २०८१ बैशाख १८, मंगलबार    

मकवानपुरका आमेथ रुम्बा स्पेनको दोनोस्टी कप खेल्दै

२०८० असार २१, बिहीबार ०२:२२ बजे

हेटौंडा – मकवानपुरका आमेथ रुम्बाले स्पेनमा मंगलबारदेखि सुरु ३० औँ दोनोस्टी कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेल्ने अवसर पाएका छन् ।

स्पेनको दोनोस्टी सिटीमा आयोजित ८ वर्षमुनिका खेलाडीबीच हुने खेलमा रुम्बाले सीडी इन्टरनेसनल क्लबबाट खेल्ने मौका पाएका हुन् । उनी फरवार्ड प्लेयर पोजिसनका खेलाडी हुन् । सीडी इन्टरनेसनलले रुम्बाको रनिङ, खेलक्षमता र बलियो शरीर देखेका कारण छात्रवृत्ति दिएर प्रशिक्षण दिएको छ ।

उनको खेलक्षमताका आधारमा छोटो समयमै अनुवन्धित भएर दोनोस्टी कप इन्टरनेसनल फुटबल प्रतियोगितामा क्लबले छनौट गरेको उनका बुबा अशोक रुम्बाले बताए । आमेथको इच्छा पनि फुटबलमै भएका कारण आफूले सोही क्षेत्रमा अगाडि बढाएको रुम्बाले बताए ।

रुम्बाको टिमले पेरिसको न्यु ओरल्यास क्लबसँग पहिलो खेल खेल्ने छ । दोनोस्टी सिटीको एलिना स्टेडियममा जुलाई ९ सम्म प्रतियोगिता चल्नेछ । प्रतियोगितामा एसिया, अमेरिका ,युरोप र अफ्रिकाका गरी २७ राष्ट्रका खेलाडीको सहभागिता रहने जनाइएको छ ।

आमेथ नेपाली, हिन्दी, अंग्रेजी, स्पेनिज र दोनोस्टीका २२ भाषा राम्रो बोल्ने गर्दछन् । मकवानपुरको मनहरी गाँउपालिकास्थित हाँडीखोला पालदमार स्थायी घर भएका आमेथ बुबाको रोजगारीको सिलसिलामा स्पेन बस्दै आएका छन् । उनी भविष्यमा राम्रो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा छाउने बुबाको विश्वास छ । आमेथका बुबा अशोक सिनक्योकोसिन कराते गण्डकी प्रदेश संयोजक हुन् । नेपाल समाचारपत्र दैनिकबाट