हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.८ कर्रापुल नजिकै आइतबार दिउँसो तीन वटा सवारी दुर्घटनामा परेको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत रातोमाटेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.४४ प.८९२० नम्बरको बिपरित दिशाबाट आउदै गरेको ना १ ह ९३८९ नम्बरको अटो एकआपसमा ठोक्किएर मोटरसाइकल उछिट्टिएर साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक हेटौंडा–१ चौकीटोल बस्ने बर्ष २२ को महेश लामा, मोटरसाइकल पछाडी सवार हेटौंडा–९ पशुपतिनगर बस्ने बर्ष २६ को गोबिन्द श्रेष्ठ र साईकलयात्री हेटौंडा–८ मैदाटोल बस्ने बर्ष ७० को तिलक बहादुर बुढाथोकी रहेका छन् ।
श्रेष्ठ र बुढाथोकीको हेटौंडा अस्पताल र लामाको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो चालक हेटौंडा–८ कमाने बस्ने बर्ष ५० को राम मणी घिमिरे प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।