प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुर सहित यी जिल्लामा आकस्मिक बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह

२०८० श्रावण ९, मंगलबार ०३:१० बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी जिल्ला मकवानपुरमा मंगलबार विहानै देखि भारी बर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टायता मकवानपुरसहित चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया, कैलाली र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

उक्त जिल्लाका साना खहरे खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाले राजमार्ग अवरुद्ध हुन सक्ने सम्भावना रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन पनि सचेत गराएको छ ।

चितवनस्थित मुग्लिङ–नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

यसैबीच, तिनाउ नदी बाढी मापन केन्द्र बुटबलमा जलसतह खतराको तहभन्दा निकै माथि पुगेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा जान महाशाखाले अनुरोध गरेको छ ।

हाल दाङको बागासोती, लालमाटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा र प्युठानको बिजुवार, मारीखोला, हंसपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ । राप्ती र बबईको साना नदी, दाङ र प्युठानको खहरे खोलामा एक्कासि बाढी आउनसक्ने भएकाले सतर्क रहन महाशाखाले भनेको छ ।