प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

हेटौंडाका लामा पक्राउ

२०७९ बैशाख ५, सोमबार १२:४६ बजे

हेटौंडा – नियन्त्रित औषधि सहित हेटौंडाका एक युवक पक्राउ परेका छन् । काठमाडौं नरेफाँट बस्ने हेटौंडा उपमहानगरपालिका–१६ घर भएका डा.हेल्थ केयर फार्मेसी नरेफाँटका संचालक २६ वर्षीय कविर लामा भन्ने उदय थिङलाई नियन्त्रित औषधि सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उपत्यकाका विभिन्न स्थानहरूमा नियन्त्रित औषधिहरू लुकाई विक्री गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले फार्मेसीमा चेकजाँच गरेको थियो । फार्मेसीबाट नियन्त्रित औषधि ४२ हजार ५ सय थान ट्रामाडोल र १० हजार ट्रामाडेक्स सहित लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि औषधि व्यवस्था विभाग विजुलीबजार नयाँबानेश्वर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।