प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

नेदरल्यान्ड्स र अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम आठमा

२०७९ मंसिर १८, आईतबार ०१:५७ बजे

काठमाडौं –  उपाधि दाबेदार नेदरल्यान्ड्स र अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।शनिबार राति भएको पहिलो प्रिक्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ र अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा पुगेको हो ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेदरल्यान्ड्सलाई जित दिलाउनका लागि मेम्फिस डिपाए, डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले गोल गरे । अमेरिका हाजी राइटले सान्त्वना गोल फर्काए । नेदरल्यान्ड्सले पहिलो हाफमै दुई गोल गरेको थियो । बल पोसेसनमा अब्बल देखिएको अमेरिकाले गोल गर्न भने सकेन ।

डिपाएले १० औं मिनेटमा डेन्जेल डम्फ्रिजको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा डेली ब्लिन्डले डम्फ्रिजको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए ।

७६औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने प्रयास गरे । उनले क्रिस्टियन पुलिसिसको पासमा गोल गरेका थिए । त्यसपछि ८१औं मिनेटमा डम्फ्रिजले डेली ब्लिन्डको पासमा उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम आठमा प्रवेश गराए ।

त्यस्तै अहमेद बिन अलि स्टेडियममा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल हो । यस्तै मेस्सीको यस खेल करियरको १००० औं खेल हो ।

खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २–१ ले विजयी भयो । जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।