हेटौंडा – हेटौंडा साइकल रन प्रतियोगितामा पुजन मगर विजेता बनेका छन् । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा शनिबार भएको खुल्ला प्रतियोगितामा मगर विजेता बनेका हुन् ।
मगरले निर्धारित २५ किमिको दुरी ३८ मिनेट १९.३७ सेकेन्डमा पार गर्दै विजेता बनेका हुन् । उनले ५० हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् । त्यस्तै ३८ मिनेट १९.७७ सेकेन्डमा २५ किमिको दुरी पार गर्दै आशिष थापा मगर द्वितीय भएका छन् । उनले नगद ३० हजार प्राप्त गरे ।
त्यसैगरी ३९ मिनेट ३८.२३ सेकेन्डमा निर्धारित दुरी पार गरेका सुमन आले मगर तृतीय भएका छन् । उनले २० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा सान्त्वना भएका प्रदिप थापा क्षेत्री र निशान श्रेष्ठले १०–१० हजार रुपैयाँ हात पारेका छन् ।
प्रतियोगितामा मकवानपुर जिल्ला भरिका ५० जनाको सहभागिता रहेको थियो । प्रतियोगिता हुप्रचौरबाट सुरु भएर गर्दौइ, क्याम्पा, चुच्चेखोला, हटिया, कमाने हुँदै पुनः हुप्रचौरमा आएर समापन भएको थियो ।