हेटौंडा – २०८१ मंसिरको १६ गतेका दिनबाट ‘वैदिक नयाँवर्ष’ (कलि संवत्सर ५०९०) प्रारम्भ भएको छ । द्वापरयुगको समाप्ति पछि कलियुग प्रारम्भ भएको ५०८९ वर्ष पूराभई आजबाट कलि संवत् ५०९० सुरु भएको हो ।
युगहरुमध्ये सबैभन्दा छोटो यो कलियुग आफैंको आयु ४ लाख ३२ हजार वर्ष रहेकोमा अहिलेसम्म जम्मा ५ हजार ८९ वर्ष बितिसकेको छ । अब कलियुगको आयु ४ लाख २६ हजार ९ शय ११ वर्ष बाँकी छ । आश्विनः युगम् – ११, वत्सर –५ (चान्द्रः अनलः संवत्सर–५०), उदगयनम्, शिशिर ऋतु, तपःमास, शुक्लप्रतिपदा तिथियुक्त वैदिक नववर्ष ५०९० लाई बिभिन्न धार्मिक संघसंस्थाद्वारा स्वागत गरिएको छ ।
मनहरीको रजैयामा रहेको अग्निहोत्र आश्रमले वैदिक नयाँवर्ष ५०९० को स्वागत गरेको छ । आश्रमले शनिबार एक बिज्ञप्ती जारी गर्दै वैदिक नयाँवर्षको स्वागत गरेको हो । वैदिक कालगणना चान्द्रमानमा आधारित भएकाले नयाँवर्ष ठ्याक्कै यही मितिमा पर्छ भन्ने हुँदैन । वैदिककाल गणनाको सुरु त्रुटिबाट उठाई मुहुर्तादि गणना हुन्छ । बराहमिहिर आदिले आर्यवर्तमा प्रवेश गराएको कालगणना विपला, पलादेखि घडी आदि हुन् भने पाश्चात्य कालगणना सेकेण्ड, मिनेट, घण्टा आदि हुन् ।
ईरानी मग ब्राह्मणहरुले ईरानतिरबाट ल्याएर फैलाएको अहिले लोकमा चलनचल्तिमा रहेको आर्यभट्ट वराहमिहिरले तयार गरेको यवनी पद्दतीको कालगणना भन्दा वैदिककाल गणना पद्दती फरक छ । कालको सबैभन्दा सानो परिमाणलाई त्रुटि भनिन्छ । १ मुहुर्त भनेको चलनचल्तिको सबैले बुझ्ने भाषामा ४८ मिनेट भनिएको हो । १ मुहुर्त भनेको २० कला हो । २ पक्ष भनेको १ चन्द्रमास हो । त्यो चान्द्र उत्तरायण र दक्षिणायन हुन्छ । २ सौर चान्द्रायनहरुको १ सौर चान्द्र वर्ष हुन्छ । ५ सौर चान्द्र वर्षहरु १ सौर चान्द्र युग हुन्छ । यस्तो कालगणना पद्दति वेदान्त ज्योतिष, व्याकरण अष्टाध्यायी, महाभारत, कौटलिय अर्थशास्त्र, शुश्रुत संहिताहरुमा उल्लेख गरिएको छ ।