हेटौंडा – मकवानपुरगढी गाउँपालिकामा स्थानीयहरुलाई प्रत्यक्ष लाभ पुग्ने सामरी खोलामा स्थानीय सरकार आउनु भन्दा पहिले एउटा पनि पक्की पुल थिएन । साविक आमभञ्याङ्ग र मकवानपुरगढी गाउँ विकास समितिलाई जोड्न तत्कालिन जिल्ला विकास समिति(जिविस) मकवानपुरले निर्माण कम्पन्नीसंग सम्झौता गरेर काम थालेको थियो ।
हाल मकवानपुरगढी गाउँपालिका वडा नं.५ र ३ जोड्ने उक्त पुलको चार वटा पील्लर मात्रै ठडिएका छन् । ठडिएका पील्लरमा खिया लागेर काम नलाग्ने स्थिति छ भने त्यहि पिल्लरमा झार उर्मिएर पनि सुकिसक्यो । काम सुरु गरेको ७ बर्ष भयो । पुल बन्ने कहिले हो ? कहिले ? पिल्लरदेखि माथिको काम हुन सकेको छैन ।

उक्त अलपत्र अवस्थामा रहेको पुल नजिकै छ, धादिङ र भालुखोला बजार । त्यो सामरी पारी मकवानपुरगढी गाउँपालिका वडा नं.३ को तल्लो भेग, वडा नं. ४ केही भाग र वडा नं.५ र ६ को केही भागको ब्यापारी केन्द्र समेत हो । बस्तु किन्न होस् या उत्पादित बस्तु बेच्न त्यही आउँछन् । पुल बन्ने आश निराशमा परिणत भएपछि बर्खे भेलमा पनि जोखिम मेलेरै खोला तर्न बाध्य छन् ।
जिविस मकवानपुरले श्री नागार्जुन शंखरमाली जे.भी.लाई गत २०७३ पुस ११ गते १५ महिनामा सम्पन्न गर्ने सर्तमा ५ करोड ३७ लाख ९२ हजार ३०५ रुपैयाँमा पुल निर्माणको जिम्मा दिएको थियो ।
काम नगरेपछि ठेक्का तोडियो
इन्जिनियरिङ्ग स्टमेट अनुसार उक्त पुल चार पिल्लर, तीन स्पानको १२० मिटर लम्बाई रहेको छ । निर्माण कम्पनीले सम्झौता अवधि २०७४ चैत ११ गतेसम्म थियो । राज्य संरचना परिवर्नतसंगै यो पुलको काम बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयमा पुग्यो । यातायात पूर्वाधार निर्देशनालय चितवनका प्रमुख बिरेन्द्र चौधरीले भने, “२०७८ चैतसम्म काम सक्न म्याद थप दियौँ, पुल बनेन, हामीले २०७९ फागुनमा ठेक्का तोड्यौँ ।”
कम्पनी कालोसूचीमा
नागार्जुन शंखरमाली जे.भी.ले करिब ६ बर्ष वित्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि ठेक्का तोडेको पूर्वाधार विकास कार्यालय चितवनले कारवाहीको लागि सिफारिस गर्यो । सार्वजनिक खरिद अनुगमन समितिले संयुक्त निर्माणको जिम्मा पाएका नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रा.लि. र शंकरमाली निर्माण सेवा प्रा.लि.लाई २–२ बर्षको प्रतिबन्ध लगाएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम प्रकाशित सुचना अनुसार सन २०२३ अक्टोबर ३ देखि सन् २०२५ अक्टोबार ३ सम्मका लागि कालोसूचिमा राखिएको छ ।
1704201900.jpg)
भुक्तानी कति भयो ?
निर्माण कम्पन्नीले पुलको पिल्लर ठढाएपछि २०७८ बैशाखमा स्पानको काम सुरु गरेको थियो । कम जनशक्ती परिचालन, काम कछुवाको गतिमा हुँदा स्पानको फर्मामा बुनिएको रडमा ढलान हुन सकेन । दुई महिनापछि असार १७ गते आएको बाढीले क्षतबिक्षत गर्दियो । तर निर्माण कम्पनीले भने १ करोड ६७ लाख ७९ हजार रुपैयाँ भुक्तानी लिएको छ ।
पालिकालाई जिम्मा दिएको भए पुल बन्थ्यो
विशेषत वडा नं.५ का स्थानीयहरुलाई मकवानपुरगढी गाउँपालिका कार्यालयमा जान सहजताको लागि निर्माण थालिएको थियो । “निर्माणको अवधि बाँकी छदै ताकेता गर्नुपर्ने ठाउँमा गरेका थियौँ, नपुग के हुन्छ सहयोग पनि गछौँ भनेका थियौँ, जिविसले प्रदेशलाई जिम्मा दियो, पालिकालाई दिएको हुन्थ्यो भने पुल बनिसक्थ्यो,” वडा नं.३ का वडाअध्यक्ष भागवत घिमिरले प्रहर खबरसंग भने । उनले स्थानीय तहको पहिलो कार्यकालमै करिब आधा दर्जन पक्की तथा फलामे पुल निर्माण सम्पन्न गरेको स्मरण पनि गराए ।
अब कहिले बन्छ पुल ?
अलपत्र छ पुल, ठेक्का तोडियो । पुनः ठेक्का लगाउँन सुचनादेखि सम्झौतासम्म गर्नुपर्ने हुन्छ । चाडै पुल बन्ने अवस्था छैन । अब कहिलेसम्ममा बन्ला पुल ? “एकहप्ता भित्रै ठेक्का लागि सुचना निकाल्छौँ, त्यसको अवधि ३० दिनको हुन्छ, ठेक्का सम्झौता १ बर्षको मात्रै हुन्छ,” यातायात पूर्वाधार निर्देशनालय चितवनका प्रमुख चौधरीले भने, “त्यो १ बर्षमा जसरी पनि पुल बन्छ ।”
तस्बीरः सन्तोष न्यौपाने(ज्याक)