प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

वनकरिया पढ्ने विद्यालयका बालबालिकालाई नियमितताका लागि साइकल

२०८० आश्विन २५, बिहीबार २०:०२ बजे

हेटौंडा – वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालको एकमात्र विद्यालयमा बालबालिकाको नियमित उपस्थितिका लागि साइकल वितरण गरिएको छ । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–४ मसिनेमा रहेको पशुपतिनाथ माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ११५ जना विद्यार्थीलाई साइकल वितरण गरेको हो ।

विद्यालयले बस संचालन गर्न नसक्ने भएपछि बसको बिकल्पमा साइकल वितरण गरिएको हो । बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विद्यार्थीलाई साइकल वितरण गरेकी हुन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मन्त्री मोक्तानले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरेर प्रशंसनीय काम गरेको उल्लेख गरिन् ।

बीचैमा विद्यालय छाड्ने समस्या, विद्यालय आउनेजाने समयमा भएको बचतले केही हदसम्म भएपनि बालबालिकालाई राहत हुने मन्त्री मोक्तानले बताइन् । उनले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी भर्ना बढाउने र टिकाइ राख्नका लागि प्रदेश सरकारले पनि सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरिन् ।

मनहरी गाउँपालिकाका कार्यबाहक अध्यक्ष शिबप्रसाद खनालले विद्यालयले बालबालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि निरन्तर लागिपरेको भन्दै साइकलले टाढाबाट आउने बालबालिकालाई राहत पुग्ने बताए । विद्यालयले वडा नम्बर ४ को आर्थिक सहयोगमा विद्यार्थीका लागि साइकल खरिद गरेको प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिए । यो साइकल सही रुपमा उपयोग गर्न आग्रह गर्दै प्रअ आचार्यले समय बचत हुने, सीप सिक्ने, शारीरिक स्वस्थ्यता कायम गर्ने, पैसा बचत गर्ने जस्ता फाइदा लिन विद्यार्थीलाई आग्रह गरे ।

मनहरी–४ का वडाध्यक्ष प्रकाश थापाको अगुवाइमा प्राप्त १० लाख रुपैयाँ बजेटबाट ११५ थान साइकल खरिद गरी वितरण गरिएको हो । विब्यस अध्यक्ष गौतमले विद्यालय आउजाउ गर्न एक घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने बाध्यता भएका विद्यार्थीका लागि यसबाट सहजता पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा गाउँशिक्षा प्रमुख प्रदीप पराजुली, पूर्ववडाअध्यक्ष ध्रुब खड्का, विब्यस पूर्वअध्यक्ष रामहरि बिष्टलगायतले साइकलको सही उपयोग गरी बालबालिकाको शिक्षा आर्जमा सुधार गर्न आग्रह गरेका छन् ।

विद्यालयमा ५३९ जना बालबालिका अध्ययन गरिरहेका छन् । गत एसइइ परीक्षामा यो विद्यालयबाट ४० जनाले परीक्षा दिएका र सबै विद्यार्थी उत्तीर्ण भई उच्चशिक्षा अध्ययनका लागि योग्य भएको विद्यालयले जनाएको छ । अधिकतम २ घण्टा ३० मिनेटको पैदलयात्रा गरी विद्यार्थी आउने गरेको बताइएको छ । वनकरिया, दनुवार राई, चेपाङ, तामाङ, दलित समुदायका बालबालिका यो विद्यालयमा अध्ययन गरिरहेका छन् ।