हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ स्थित थानाभर्याङमा रहेको टायर रिपेयर पसल नजिक टायर मर्मत गर्ने क्रममा टायर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मधेश प्रदेश ०३००–२ ख ०३०० नम्बरको पेट्रोल लोड ट्याङ्करको टायर मर्मत गर्ने क्रममा टायर पट्किन गई टायर पसलको मिस्त्री भारत भोजपुर बस्ने ३४ वर्षिय महमद ऐजाजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
घटनामा घाइते भएका ६ जनालाई हेटौंडाको चुरेहिल अस्पतालमा लगिएको थियो । जसमा ३४ वर्षीय भारतीय मिस्त्री महमद ऐजाज गम्भीर घाइते भएका थिए। थप उपचारका लागि उनलाई भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पठाइएको थियो । उनलाई डाक्टरले बिहान ४ः१६ बजे मृत घोषणा गरेको अर्यालले बताए ।
पर्सा जिल्ला निवासी जाबिर हवारे (१८), मकवानपुर हेटौंडा निवासी ट्याङ्कर चालक देवान लामा (३९), धादिङ निवासी उत्तम बस्नेत (२३), मकवानपुर निवासी मोहनलाल दुलाल (४७) र धादिङ निवासी लक्ष्मण थापा (३८) घाईते भएका छन् । चुरेहिल अस्पतालले घाइतेमध्ये चार जनालाई डिस्चार्ज गरेको छ भने चालक देवान लामाको उपचार अझै जारी छ।
लामाको बायाँ घुँडा र हातमा चोट लागको छ भने उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।