प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हिमालयन राइडर्सका सदस्यहरु मेचीकाली यात्रामा

२०८१ कार्तिक २४, शनिबार ०८:११ बजे

हेटौंडा – शनिबार हुन लागेको तेस्रो पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री रेस प्रतियोगितामा सहभागी हुनको लागि हिमालयन राईडर्स सोसाइटीको तर्फबाट एक जना महिला सहित तीनजना सहभागी हुने भएका छन् ।

मकवानपुरको पहिलो मेची–महाकाली यात्रा गर्ने महिला सीता श्रेष्ठ, हरिराम राई र आशिष थापामगर हेटौंडाबाट शुक्रबार पोखरा पुगेका छन् । सोसाइटीका सदस्यहरुले पोखरामा हुने क्रस कन्ट्री रेसमा उत्कृष्ट खेल प्रदर्शन गर्ने आशा गरिएको सोसाइटीका अध्यक्ष राजु थापामगरले बताए । अध्यक्ष थापामगरसँग सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य पनि तीन जना खेलाडीलाई हौसला प्रदान गर्न पोखरा पुगेका छन् ।

यसैगरी सोसाइटीका सदस्य ६८ वर्षीय कृष्णप्रसाद आचार्य, ६२ वर्षीय पृथ्बी रायमाझी र५७ वर्षीय बरुण खतिवडाको टोली मेची–महाकाली साइकलयात्रा गर्न यतिबेला झापाको मेचीपुलमा पुगेका छन् । यो उमेरमा पनि युवा जोसका साथ साहसिक यात्रा गर्न अघि सरेको भन्दै सोसाइटीले यात्रा पूर्ण सफलताको कामना गरेको छ । ‘यो यात्राले तपाईं हामीलाई केही गर्नुपर्छ भन्ने प्रेरणा मिल्न सक्छ र जीवनमा उर्जा थपिने छ’ सोसाइटीका अध्यक्ष थापामगरले भने ।

शनिबार बिहान मेचीपुलबाट यात्रा सुरु गर्ने योजना रहेको छ । मेचीदेखि महाकाली यात्राको क्रममा ज–जसले भेट्नुहुनेछ वहाँहरुलाई शुभकामना र हौसला प्रदान गरिदिनुहुनका लागि सोसाइटीले आग्रह गरेको छ । गतवर्ष पनि सोसाइटीका १३ जना सदस्यहरुले यही समयमा मेची–महाकाली साइकलयात्रा गरेका थिए । सोसाइटीका कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ र सल्लाहकार सदस्य भानुभक्त आचार्यले दुईपटक मेची–महाकाली साइकलयात्रा गरिसकेका छन् ।