प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

उपयोगी सहस्राब्दीको १५ औं वार्षिक साधारणसभा

२०८० आश्विन २८, आईतबार ०७:१० बजे

हेटौंडा – हेटौंडा–११, स्थित उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्थाको शनिवार १५ औं वार्षिक साधारणसभामा सहकारीको मुख्य कार्यालय थानाभ¥याङमा भएको छ । हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँले उपयोगी सहस्राब्दी सहकारीको नीति, बिधि र प्रबिधिमा उत्कृष्ठ रहेको बताए ।

हेटौंडा नगरभित्रका २५३ सहकारी संस्थाले युवालक्षित उत्पादनमूलक कार्यमा जोड दिनुपर्ने बताउँदै उपप्रमुख बानियाँले युवाजनशक्ति बिदेशिने क्रम रोक्न सबैले आआफ्नो स्थानबाट प्रयास गर्नुपर्ने बेला भएको बताए । नेपालमा सम्भावना छैन भन्नेहरुलाई यहीँ सम्भावना छ भन्ने देखाउन सहकारी संस्थाको उद्देश्य तथा कार्यक्रम आउनुपर्ने बताए ।

कार्यक्रममा हेटौंडा–११ का वडाअध्यक्ष जुना दाहाल, राष्ट्रिय सहकारी बैंकका रामेश्वर अर्याल, जिल्ला बचत संघका मिना चौरेल, क्षिरसागर दुग्ध उत्पादक सहकारीका शालिकराम पुडासैनी, दुइबस्ती खानेपानी उपभोक्ता समितिका देवकुमार श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्य, सहकारीका सदस्य यज्ञबहादुर आचार्यलगायतले बोलेका थिए ।

कार्यक्रममा सहकारी अध्यक्ष दिनेश बिडारीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक लक्षित कार्यक्रमहरु प्रस्तुत गरेका थिए । यस आवमा सहकारीले शेयर सदस्य बृद्धि गर्ने, सुरक्षाको व्यवस्था गरिने, बैंक, वित्तीय संघसंस्थासँगको सहकार्य र कारोबारलाई निरन्तरता दिईने, कर्जा लगानीको सीमा संस्थाको प्राथमिक पुँजिकोषको आधारमा नियमानुसार गरिने योजना रहेको अध्यक्ष बिडारीले बताए । साधारणसभाले संस्थाको आगामी नीति तथा कार्यक्रमका साथै प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनहरु पारित गरेको छ ।

सहकारीका सचिव ईन्द्रप्रसाद सापकोटा, कोषाध्यक्ष रामेश्वर नगरकोटी, लेखासमिति संयोजक बसन्त कप्रौलाले प्रस्तुत गरेको प्रतिबिेदनहरु पनि साधारणसभाले पारित गरेको छ । ३४ जना जेष्ठ सदस्यहरुलाई सम्मान, एसइइ परीक्षामा उत्कृष्ठ अंक प्राप्त गर्ने सेयरसदस्यका छोराछोरी, उत्कृष्ठ ऋणी, उत्कृष्ठ बचतकर्ता, बालबचतकर्ता, उत्कृष्ठ कर्मचारीलाई पनि सम्मानीत गरिएको थियो । सहकारीले ८ जना सेयर सदस्यहरुका लागि लक्की ड्रमार्फत् सरप्राइज गिफ्ट प्रदान गरेको थियो ।