हेटौंडा – मकवानपुर जिल्लाका दश वटै स्थानीय तहहरुमा मतदानको काम सकिएको छ । विहान ७ बजे शुरु भएको मतदान अपरान्ह ५ बजेपछि सकिएको हो ।
जिल्लामा ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ । मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरन्त श्रेष्ठले साँझ ५ बजेसम्मा ७० प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिएको छ । उनले भने, कुनै पालिकामा ६५प्रतिशत, कुनै पालिकामा ७० प्रतिशत भन्दा बढी मत खसेको छ । औसतमा ७० प्रतिशत मत खसेको अनुमान गरेका छौँ । यकिन तथ्यांक आउन बाँकी छ । ’
त्यस्तै मकवानपुरको थाहा नगरपालिकामा ७० दशमलब ६४ प्रतिशत र इन्द्रसरोबरमा ६८ प्रतिशत भन्दा बढी मत खसेको जनाएको छ ।जिल्लाको १० पालिकामा १६५ मतदान स्थल र ३५६ मतदान केन्द्रबाट मतदान भएको थियो । जिल्लामा कुल दुई लाख ९४ हजार ९१९ मतदाता रहेका थिए ।
मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको जनाइएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।
यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेका छन् ।