प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आयुर्वेद सेवा प्रवर्धन गर्न हेटौंडामा अन्तरक्रिया

२०७९ पौष १९, मंगलबार १३:२१ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा आयुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय तहका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरकी प्रमुख ललिता पाण्डेले आयुर्वेद स्वास्थ्य केन्द्रबाट संचालित सेवाहरु, सेवा विस्तारको स्थिति, सञ्चालन गरिएको कार्यक्रम, आर्थिक प्रगति विवरण, सेवा विस्तारका समस्य तथा समाधान उपायहरु, उपलब्धिहरु लगायतका विवरण प्रस्तुत गरेकी थिइन् ।

यस केन्द्रबाट बिशेषज्ञ सहित बहिरगं, निःशुल्क योग परामर्श, निःशुल्क औषधी, सःशुल्क फार्मेसी, पुर्वकर्म, पंचकर्म, जेष्ठ नागरीक सेवा, स्तनपायी कार्यक्रम, ल्याब सेवा, फिजियोथेरापी, अकुपञ्चर, क्षारसुत्र लगायतको सेवा प्रदान गर्दै आएको प्रमुख पाण्डेले जानकारी दिइन् । पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गर्नेको आर्कषण बढ्दो रहेको उनले बताईन् । आयुर्वेद उपचार पद्धतिमा पहिलेको तुलनामा विरामीहरुको चासो बढेकोले सेवा प्रभावकारी भएको उनको भनाई छ ।

अन्तरक्रियामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आयुर्वेद औषधीको महत्व र प्रयोग विधिबारे जनतालाई स्पष्ट तरिकाले बुझाउनुपर्ने बताए । आयुर्वेदबारे संस्कृत भाषा उल्लेखित हुने भएकाले केही शब्द नबुझ्ने र प्रयोग गर्न पनि नजान्ने हुँदा यसलाई बुझ्ने भाषामा उल्लेख गर्नुपर्ने बताए । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक महेश्वर श्रेष्ठले आयुर्वेद औषधालयहरुलाई प्रभावकारी बनाउनका लागि बजेट समेत थप गरेर काम गरिदै आएको बताए । 

तीन आर्थिक बर्षको विवरण हेर्दा प्रत्येक बर्ष आयुर्वेद उपचार पद्धतिमार्फत सेवा लिने बिरामीहरुको सङ्ख्या बढ्दो रहेको छ । आर्थिक बर्ष २०७६/७७ मा ८ हजार, २०७७/०७८ मा करिब १२ हजार र २०७८/७९ मा १५ हजार भन्दा बढी विरामीले ओपिडि सेवा लिएका छन् । जिल्लाको बागमती, बकैया, मनहरी, राक्सिराङ, कैलाश गाउँपालिका, थाहा नगरपालिलका र हेटौंडा उपमहानगरपालिकामा आयुर्वेद उपचार केन्द्र सञ्चालनमा रहेको छ । त्यस्तै मकवानपुरगढी, भिमफेदी र इन्द्रसरोबर गाउँपालिकामा सेवा विस्तार गर्न बाँकी रहेको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुर व्यववस्थापन समितिका अध्यक्ष मधु बजगाई क्षेत्रीको सभाध्यक्षमा भएको कार्यक्रममा पत्रकारहरु, आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।