हेटौंडा – हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालित दुई उद्योगद्वारा उत्पादन भएको बस्तुको गुणस्तरमै शंका उत्पन्न भएको छ । औद्योगिक क्षेत्रभित्र सञ्चालित भ्याली पेलेट फिड प्रा.ली. र सिद्धार्थ पेलेट फिड प्रा.ली.को दाना उत्पादन प्रक्रियामा विभिन्न किसिम समस्या देखिएको हो ।
दुबै उद्योगबाट उत्पादित दानाको परिक्षणको लागि चार/चार वटा नमुना संकलन गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरमा पठाईएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।
गैह्रेका अनुसार अनुगमनको क्रममा सिद्धार्थ पेलेट फिड प्रा.ली.ले नविकरण नगरेको, उत्पादन प्रयोग हुने कच्चा पदार्थ लेवलिङ नरहेको, सरसफाईको अभाव देखिएको छ । उक्त समस्या साधार गर्न निर्देशन सहित उद्योगलाई ५० हजार जरिवान गरिएको उनले बताए ।
यसअघि भ्याली पेलेट फिड प्रा.ली.को गोदामबाट एल–थ्री ५४ बोरा(प्रतिबोरा ५० केजि) १ लाख १४ हजार मुल्य बराबरको म्याद सकिएको र एल–थ्री २६० बोरा(प्रतिबोरा ५० केजि) ९ लाख २३ हजार मुल्य बराबरको उपभोग्य मिति नखुलेको दाना बरामद गरिएको थियो भने मिति समाप्त भएका ४५ बोरा दाना जफत गरी नष्ट समेत गरिएको थियो ।
बिहिबार मकवानपुरका सहायक सिडिओ गैह्रेको नेतृत्वमा हेटौंडा औद्योगिक क्षेत्रको ६ वटा उद्योगहरुमा अनुगमन गरिएको हो । अनगुमनमा हेटौंडा उपमहानगरपालिका, खाद्य तथा गुण नियनत्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता मञ्च, मकवानपुर उद्योग बाणिज्य संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।