प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घाँस काट्न गएका आमाछोरा तीन दिनपछि मृत भेटिए

२०८० भाद्र ११, सोमबार ०३:२५ बजे

हेटौंडा – घाँस काट्न जाँदा खोलाले बगाई तीन दिनदेखि बेपत्ता भएका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ राँगेचुरीका आमाछोरा मृत अवस्थामा फेला परेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार भदौ ९ गते दिउँसो ३ बजेतिर करिब एक किलोमिटर टाढा रहेको गाउँकै ब्रमठाकुर सामुदायिक वनमा  घाँस काट्न जाँदा ५७ वर्षीया माया गोले (आमा) र २८ वर्षीय छोरा राजकुमार गोलेलाई गाउँकै स्थानीय खड्कुले खोलाले बगाएको थियो । बेलुकासम्म घर नफर्किएपछि आफन्त, स्थानीय र प्रहरीले खोजी गर्न सुरु गरेका थिए। 

खोजी गर्ने क्रममा आमा माया गोलेको शव रौतहट जिल्लाको गरुडानजिक बागमती नदीको किनारमा आइतबार बिहान फेला परेको र छोरा राजकुमारको गाउँकै क्यान खोला र खड्कुले खोलाको दोभानमा शनिबार दिउँसो मृत अवस्थामा फेला पारेको हरिहरपुरगढी–७ का वडाध्यक्ष यकबहादुर मुक्तानले जानकारी दिए। शव पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।