प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको प्याङ्चे भीरबाट लडेर एक जनाको मृत्यु

२०८१ मंसिर १०, सोमबार २०:४८ बजे

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित प्याङ्चे भिरबाट लडेर १७ वर्षीय एक युवाको मृत्यु भएको छ। कैलाश गाउँपालिका–२ छ्याङदुङ घर भएका पावल प्रजा आइतबार राति घर फर्कने क्रममा भीरबाट करिब ५० मिटर तल मनहरी खोलामा लडेका थिए।

मनहरीबाट घरतर्फ जाँदै गर्दा प्याङ्चे भीरको कठिन मार्गमा सन्तुलन गुमाउँदा उनी खोलामा खसेका हुन्। घटनापछि गम्भीर घाइते भएका प्रजालाई तत्काल उद्धार गरी भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो।

गम्भीर चोटका कारण उपचारकै क्रममा सोमबार प्रजाको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। अहिले उनको शव नयाँ मेडिकल कलेजको शवगृहमा राखिएको छ।