प्रहर खबर
 २०८१ बैशाख २९, शनिबार    

हेटौंडामा ४ बर्षपछि ‘सडकमै खाने, सडकमै रमाउँने’ मौका

२०८० पौष ५, बिहीबार २१:३२ बजे

हेटौंडा – ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूलनाराका साथ मकवानपुरमा ‘सडक खाना महोत्सव’(स्ट्रीट फूड फेस्टिभल) को आयोजना हुने भएको छ । मकवानपुरको होटलहरुमा बन्ने परिकारहरुको प्रवद्र्धन गर्ने उद्देश्य हेटौंडा एशोसियसन अफ मकवानपुरले सडक खाना महोत्सवको आयोजना गर्न लागेको हो ।

एसोसिएसनले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी स्ट्रीट फूड फेस्टिभल गर्ने बारे जानकारी दिएको हो । खाना महोत्सव यही पुस १३, १४ र १५ गतेसम्म सञ्चालन हुने एसोसिएसनका कार्यवाहक अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए ।

उनका अनुसार हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित पूर्वतर्फको सडक क्षेत्रमा उक्त महोत्सवमा स्थानीय मौलिक परिकार, नेवारी, थारु, थकाली, बेकरी, जिल्ला उत्पादन हुने रैथाने बालीका परिकार सहित ४० भन्दा बढी खाना कक्ष रहनेछ ।

इस्वी सम्वतको नयाँ वर्षको अवसर पारेर आयोजना हुने यस महोत्सवमा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । एक स्टलको शुल्क ७ हजार ५ सय तोकिएको छ । खाना महोत्सवले जिल्लाको पर्यटन प्रवद्धनमा सहयोग गर्ने आयोजकको दाबी छ ।

हेटौंडामा सडक खाना महोत्सव पहिलो पटक २०६५ सालमा आयोजना  भएको थियो । यो महोत्सव करिब ४ बर्षदेखि कोभिड–१९ र आर्थिक स्रोत अभावका कारण हुन सकेको थिएन । २०७६ सालपछि पहिलो पटक आयोजना हुन लागेको सडक खाना महोत्सवमा ११ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।