प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखियो

२०८० असार १२, मंगलबार ०२:२५ बजे

काठमाडौँ – पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो।

अख्तियारले सोमबार जलहरीको परीक्षण सकेको छ। यद्यपि अन्तिम प्रतिवेदन बनिसकेको छैन। अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धान कार्य चलिरहेकाले अन्तिम निष्कर्ष नआई केही नबोल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “के–के हुँदै छ, अनुसन्धान अधिकृतलाई मात्रै थाहा हुन्छ। अन्तिम निष्कर्ष आएपछि हामी भन्छौँ।”

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, सुनचाँदी महासङ्घको विज्ञ टोली, खानी तथा भू–गर्भ विभागका प्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको निगरानीमा जलहरी नापतौल र परीक्षणपछि रुद्रगारेश्वरमा राखिएको छ।

जलहरी राखिएको स्थानमा नेपाली सेनाले पहिलो घेरामा सुरक्षा प्रदान गरिरहेको छ। दोस्रो घेरामा सशस्त्र प्रहरी बलको टोली छ। नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले पनि सुरक्षा प्रदान गरिरहेका छन्। उक्त स्थानलाई सिसिटिभीबाट निगरानी गरिएको छ। गोरखापत्र दैनिकबाट