हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आइतबार ल्याउने भएको छ । प्रदेश सरकाको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रदेश सभाको दिउँसो २ बजे बस्ने बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रस्तुत हुने कार्यक्रम तय भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आइतबार सरकारको नीति तथा कार्यक्रम आउने र त्यसैका आधारमा आगामी आवको बजेट ल्याइने जानकारी दिनुभयो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि समावेशी, समानुपातिक सिद्धान्त र भूगोलका आधारमा कृषि, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने जनाएको छ ।
बुधबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेश सभा बैठकमा पेस गर्नुभएको थियो । बुधबार र बिहीबार भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा प्रदेश सभाका सदस्यले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा नीति तथा कार्यक्रम र नीति तथा कार्यक्रमका आधारमा आगामी आवको बजेट आउनुपर्नेमा जोड दिनुभएको थियो । गोरखापत्र दैनिकबाट