प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रक दुर्घटना: मकवानपुरका दाहाल र बजगाईंको मृत्यु, तीन घाइते

२०८१ मंसिर १०, सोमबार ०८:२४ बजे

मकवानपुर – चितवनको मुग्लिन-नारायणघाट सडकखण्डमा हिजो साँझ भएको ट्रक दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा मकवानपुरगढी गाउँपालिकाका दीपक दाहाल र श्याम बजगाईंको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

दुर्घटना इच्छाकामना गाउँपालिका-६ नौकिलोमा भएको हो। चामल बोकेको बा.प्र.०३००१ ख ३४९० नम्बरको ट्रक अनियन्त्रित भएर सडकको छेउमा पल्टिएको प्रहरीको भनाइ छ।

घटनामा परेर तीन जना घाइते भएका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ।

घाइते मकवानपुर हेटौंडा उपमहानगरपालिका-१८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेजमा र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

यसैगरी, दुर्घटनामा परेका मकवानपुरगढी गाउँपालिका-६ का २७ वर्षीय सुसन विक सकुशल रहेको प्रहरीले जनाएको छ।

ट्रक सडकको छेउमा पल्टिएकोले घाइतेहरूलाई च्यापिएको अवस्थाबाट उद्दार गरिएको थियो। दुर्घटनापछि केही समय अबरुद्ध भएको सडक अहिले पूर्णरूपमा सुचारु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण ट्रकको ब्रेक फेल भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। थप अनुसन्धान जारी छ।