हेटौँडा – राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले सरकारले गरेको अस्वभाविक मूल्यवृद्धिको विरूद्धमा विरोध प्रदर्शन गरेको छ । आज प्रदेशको राजधानी हेटौंडामा मोटरसाइकल तथा स्कुटर डोर्याएर मुल्यवृद्धिको बिरोध गरेको हो ।
सरकारले एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरुमा भइरहेको चर्को मूल्यबृद्दिको बिरोध गर्दै हेटौँडाको सिमाचोदेखि बुद्धचोकसम्म युवाहरुले मोटरसाइकल तथा स्कुटर धकेलि बृहत र्याली सहित बिरोध गरेको हो ।

र्यालीमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर,महंगी भ्रष्टाचार नियन्त्रण गर, ए सरकार ∕ तेरो मूल्यवृद्धिले मेरो ढाड सेकियो, ए सरकार ∕ जनता लुटिने कहिले सम्म ? दलालहरू होशियार, दैनिक उपभोग्य वस्तुमा गरिएको मूख्यवृद्धि नियन्त्रण गर, राष्ट्रिय युवा संघ नेपाल जिन्दाबाद, आकासिदो महँगो महंगी नियन्त्रण गर जस्ता नारा लेखिएको ब्यानर सहित युवा संघका नेता कार्यकता प्रर्दशनमा उत्रेका थिए ।
मूल्यवृद्धि फिर्ता नलिए अझै सशक्त आन्दोलन गर्न बाध्य हुने प्रर्दशनीमा सहभागिहरुले चेतावनी दिएका छन् । प्रर्दशनी कार्यक्रममा उग्र एबंम आक्रोशित नारा लगाउर्दै युबा संघ मकवानपुरका कोषाध्यक्ष सुरेश बेरोजगारले र्यालीलाई नेतृत्व गरेका थिए । प्रर्दशनी कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायत एमाले तथा युवा संघका कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।