हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.५ सिक्रेदोभानस्थित पहिरोमा परी बेपत्ता भएका मध्ये बाबुछोरा करिब तीन हप्ता वित्दा समेत फेला परेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसारले बेपत्ता भएका मध्ये २५ बषीय जीवन पहरी र ४ बर्षीय मिलन पहरी अझै फेला नपरेको जनाएको छ ।
लगातार भएको बर्षाका कारण गत साउन २३ गते बिहान ४ बजे सिक्रे दोभानस्थित स्थानीय ६० बर्षीय अक्कल बहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो । उक्त पहिरोमा अक्कल बहादुर सहित उनका श्रीमती ५५ बर्षीया सन्तमाया स्याङ्तान, उनको छोरी २२ बर्षीया शिला पहरी, ज्वाई २५ बर्षीय जिबन पहरी, नाती ४ बर्षीय मिलन पहरी, नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटी बस्ने १७ बर्षीय पासाङ घिसिङ परेका थिए ।
पहिरोमा परेका मध्ये अक्कल बहादुरका श्रीमती सन्तमायालाई स्थानीयले चिन्ताजनक अवस्थामा उद्धार गरेको थियो । उनको स्थानीय मेडिकलमा उपचारकै क्रममा मृत्यु भएको थियो भने बाँकी ६ जना बेपत्ता भएका थिए । उनीहरुको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली खटिएको थियो ।
सुरक्षाकर्मीको टोलीले बेपत्ता भएका मध्य अक्कल बहादुरका घरमा पाहुना लाग्न आएका पासाङलाई १५ घण्टापछि घटनास्थलदेखि करिब ७ किलोमिटर तल बागमती खोलाको किनारबाट जिवितै उद्धार गरेर बचाउन सफल भएको थियो । त्यस्तै घटना भएको भोली पल्ट साउन २४ गते अक्कल बहादुर र उनको छारी शिला, पर्सी पल्ट करिब ६/७ महिने नातिनीको शव फेला परेको थियो ।
यसो भन्छन् एसपी रिजाल
सिक्रेदोभानमा पहिरो गएको २० दिन वितिसकेको छ । तर जीवन र उनका छोरा मिलन अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले बेपत्ता भएका बाबुछोराको खोजी कार्य जारी रहेको बताए । ‘हामीले आफ्नोतर्फबाट खोजी राखेका छौँ, अझै भेटिराखेको अवस्था छैन,’ उनले भने ।