हेटौंडा – मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तन देखिने गरी काम अघि बढ्ने बताएका छन् । मनहरी गाउँपालिका वडा नं ४ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डब्लुपीडीले आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष कालाखेतीले यस्तो बताएका हुन् ।
‘कृषि, शिक्षा र स्वास्थ्यमा आगामी बर्ष अझै बढी लगानी गर्दै जानेछौँ’, अध्यक्ष कालाखेतीको भनाई थियो–‘यस बर्ष पक्की पुल निर्माणमा १५ करोड रुपैयाँ लगानी गर्नुपरेकाले योजना बाँडफाँटमा अलिक समस्या आयो, अर्काे बर्ष यस्तो हुँदैन ।’ अध्यक्ष कालाखेतीले आगामी बर्ष पक्की पुल निर्माणका लागि ८ करोड मात्रै लगानी गर्नुपर्ने हुँदा चालू आर्थिक बर्षकै तुलनामा पनि ७ करोड रुपैयाँ बचत हुने र उक्त रकम सबै वडामा योजनाको रुपमा बिनियोजन हुने बताए ।
कार्यक्रममा पशुपतिनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले विद्यालयसँग सम्बन्धित जिज्ञासाको जवाफ दिएका थिए । एसइइ परीक्षामा मनहरी गाउँपालिकामा रहेका ८ वटा सामुदायिक माविमध्ये विद्यार्थी उत्तीर्ण प्रतिशतका आधारमा पशुपतिनाथ मावि दोस्रो स्थानमा रहेको बताइएको छ ।
पशुपतिनाथ माविका विद्यार्थीहरुले गणित विषयको आधारभूत ज्ञानमा कमी रहेका कारण सुधार गर्न आग्रह गरेका थिए । गाउँपालिका शिक्षा शाखाप्रमुख हरिचन्द्र सापकोटा, सामाजिक विकास शाखाप्रमुख शैलेस बास्कोटा, स्वास्थ्य इकाईकी संरचना देवकोटालगायत आम जनसाधारणले उठाएका बिषयबस्तुबारे जबाफ दिएका थिए ।
मनहरी ४ का वडाध्यक्ष प्रकाश थापाले उठेका सबालको आफूले राम्ररी मनन् गरेको र निकट भबिष्यमै समाधान भएर जाने बताए । तर, शिक्षा क्षेत्रमा उठाइएका प्रश्नहरुका बारेमा भने वडाध्यक्ष थापाले अभिभावकहरु नै सचेत नहुँदा समस्या आइरहेको बताए ।
सार्बजनिक सुनुवाई कार्यक्रममा घरेलुहिंसा भोग्दै आइरहेकी महिलाको समस्यादेखि विद्युत बिस्तार, खानेपानी, सीप तथा तालिम, विद्यालयमा छात्रबृत्ति लगायतका बिषयमा सबालहरु उठेको थियो । वडाध्यक्ष थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्सेकका कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले औचित्यबारे स्पष्ट पारेका थिए ।