काठमाडौं – स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २१ औं बार्षिक साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट हुने भएको छ । काठमाडौंको होटेल हायतमा हुने साधारण सभा तथा अधिबेशनको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएका हुन ।
इप्पानका अध्यक्ष कृष्ण आचार्य ले दिएको जानकारी अनुसार अर्थमन्त्री डाक्टर प्रकाशशरण महत , उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेत, बन तथा बाताबरण मन्त्री बिरेन्द्र प्रसाद महत्तोको पनि उपस्थिति रहने छ । भोलि ३२ गते बिहिवारका बिहान ९:०० बजे बौद्ध स्थित होटेल हायतमा उद्घाटन कार्यक्रम हुने छ ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को अधिबेशनमा गणेश कार्की र किरण मल्लको छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा छ । कार्की नेतृत्वको प्यानलबाट अध्यक्षको उम्मेदवार गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, उपाध्यक्षहरू आशिष गर्ग, भरत खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी, उत्तम लामाको उम्मेदवारी रहेको छ।
त्यस्तै, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिव भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, भरत नेपाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी रहेको छ ।प्रमुख निर्वाचन अधिकृतका अनुसार मंगलबार ११ बजेदेखि दिउँसो २ बजे सम्म उमेद्वारहरुको मनोनयन पत्र दर्ता गरिएको थियो ।
अध्यक्षका अर्का प्रत्यासी किरण मल्ल समूहले उमेद्वारी दर्ता गरेको छ । ३ जना महिला सदस्य , उपमहासचिव र कोषाध्यक्ष निर्विरोध निर्वाचित भैसकेका छन । उपमहासचिवमा प्रकाश चन्द्र दुलाल कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त र महिला सदस्यहरुमा शुसन बर्जाचार्य, सुमन जोशी र इशा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन ।
अध्यक्षका प्रत्यासी कार्कीले जलविद्युत प्रवद्र्धकहरुले भोग्नु परेका समस्या समाधानको पहलका लागि सबै निकायसँग समन्वय गरेर अघि बढ्न इपानको आगामी कार्यकालको नेतृत्व लिन उमेद्वारी घोषणा गरेको बताएका थिए । उनले ‘म लामो समयदेखि जलविद्युत क्षेत्रमा सक्रियरूपमा काम गर्दै आइरहेको छु, यो क्षेत्रका सबै समस्याबारे म जानकार छु । अध्यक्ष पदको जिम्मेवारी पाएमा ऊर्जा क्षेत्रका समस्या समाधानका लागि पहल गर्न अग्रसर हुनेछु ।’ उनले बर्खामा निजी क्षेत्रका जलविद्युतगृहको विद्युत खेर जान थालेकाले अब विद्युत व्यापारमा आउने नीतिगत व्यवस्थाका लागि इपानको नेतृत्व गर्दै पहलकदमी गर्ने पनि बताएका थिए ।
जलविद्युत आयोजना निर्माणमा लागि बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज पनि अहिलेको अवस्थामा ठूलो समस्या रहेको बताउँदै कार्कीले यो समस्या समाधानका लागि समेत सम्बन्धित निकायमा पुगेर विषय उठान गर्न प्रतिबद्ध रहेको बताएका थिए। ‘बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज दरका कारण अहिले जलविद्युत प्रवद्र्धक समस्यामा छन् । मैले इपानको नेतृत्व लिने अवसर पाएको खण्डमा ब्याजदरको समस्या सम्बोधनका लागि पहल गर्नेछु’, उनले भनेका छन ।
अहिले १५ सय मेगावाटका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) खुलाइए पनि बैंक तथा वित्तीय संस्थाको ऋण लगानी जोहो गर्न कठिनाइ रहेको उनले बताएका छन ।
इपानका बर्तमान अध्यक्ष कृष्ण आचार्यले अहिले पनि सर्वसहमतिबाट नै नयाँ कार्यसमिति चयनका लागि प्रयास भइरहेको बताए । ‘अहिलेसम्मको हाम्रो प्रयास सर्वसहमत कार्यसमिति हुनुपर्छ भन्नेमा नै केन्द्रित छ,’ उनले भने,‘यदि, सर्वसहमति जुट्न सकेन भने पनि लोकतान्त्रिकरूपमा स्वच्छ प्रतिश्पर्धा हुनुपर्छ ।’ उनले मल्ल समूहबाट उमेद्वारी घोषणा गर्नेहरू पनि ऊर्जा क्षेत्रमा सक्रिय राम्रा व्यक्तित्व भएकाले मिलेर जान आग्रह गरेका छन ।रामचन्द्र नेपाल