प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा अबैध ड्राइभिङ्ग सेन्टर सञ्चालन, यातायात कार्यालयको किन बन्द छ आँखा र कान ?

२०७९ श्रावण २०, शुक्रबार १३:३४ बजे

हेटौंडा – सरकारी संघसंस्थाले सेवा मात्रै प्रवाह गर्दैनन् । प्रकृति अनुसार नियन्त्रण, सम्बद्र्धन, संरक्षण पनि गर्दछन् । त्यो क्षेत्र अनुसार फरक–फरक हुन्छ । त्यस्तै सरकारी निकायमध्ये एउटा निकाय छ, यातायात ब्यवस्था कार्यालय । यातायात कार्यालयबाट प्रवाह हुने सेवाको आ–आफ्नै निर्देशिका र कार्यबिधि छ । जसमध्ये एक सेवा छ, सवारी चालक प्रशिक्षण केन्द्र (ड्राइभिङ सेन्टर) सञ्चालन अनुमति ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात ब्यवस्था बिभाग अन्तर्गत ड्राइभिङ सेन्टर चलाउनको लागि सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ल्याइएको छ । उक्त निर्देशिका यातायात ब्यवस्था कार्यालय हेटौंडाले कार्यान्वयनमा नल्याउँदा काजमै मात्र सीमित भएको छ । कार्यालयले मकवानपुरमा सञ्चालनमा रहेको ड्राइभिङ सेन्टरलाई सो निर्देशिकाको मापदण्ड पालना गराउन नसक्दा काजमै सीमित भएको हो ।

कति छन् ड्राइभिङ सेन्टर ?
मकवानपुरमा झण्डै डेढ दर्जन ड्राइभिङ सेन्टर सञ्चालनमा रहेका छन् । जसमा घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुरले आफ्नो कार्यालयमा १५ वटा दर्ता रहेको दाबी गरेको छ भने हेटौंडा उपमहानगरपालिकामा पाँच वटा दर्ता भएको जनाएको छ । यीमध्ये १५ वटा मात्रै आन्तरिक राजस्व कार्यालय हेटौंडामा दर्ता भएका छन् भने करिब आधा दर्जन बिना दर्ता संचालन छन् । सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन मापदण्ड पुरा गरी यातायात व्यवस्था कार्यालय हेटौंडामा दर्ता भएका दुईवटा मात्रै छन् ।

के छ निर्देशिकामा ?
सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०६९ लाई संशोधन गरी २०७४ निर्देशिका जारी गरिएको हो । २०७४ चैत १६ गते स्वीकृत भएको निर्देशिका २४ पृष्ठको छ । जसमध्ये चारवटा पृष्ठमा ड्राइभिङ सेन्टर सञ्चालन संक्षिप्त नाम र प्रारम्भ, परिभाष, बर्गिकरण, दर्ता, प्रयोगात्मक प्रशिक्षण स्थल, भौतिक पूर्वाधार तथा मानवीय संशाधनसम्बन्धी मापदण्डदेखि खारेजी र बचाउसम्मको दफा/उपदफा रहेका छन् । बाँकी पृष्ठमा त्यसका अनुसूचिहरु रहेका छन् । जसमा रहेका मापदण्डहरु पुरा नगरी मकवानपुरका अधिकांश ड्राइभिङ सेन्टर सञ्चालित छन् ।

निर्देशिकाको दफा ६ को (२) मा प्रशिक्षण केन्द्र शाखा खोल्न पाइने छैन । दफा ७ को (क)मा एउटा प्रयोगात्मक स्थलमा एक मात्र प्रशिक्षण केन्द्र दर्ता हुने, (ख) मा एकभन्दा बढी दर्ता भैसकेको भए जसको नाममा उल्लेखित प्रयोगात्मक स्थल निर्माण र जग्गा सम्झौता भएको छ, सोही संस्थाको मात्र प्रशिक्षण केन्द्र कायम राखी दर्ता गरिने छ र अन्य प्रशिक्षण केन्द्रकोे दर्ता खारेज हुनेछ भनिएको छ । त्यस्तै दफा १० मा भौतिक पूर्वाधार तथा लेआउटको मापदण्डमा सडक सीमाभन्दा बाहिर ड्राइभिङ प्रशिक्षण गराउनु पर्ने, प्रशिक्षण केन्द्रको बर्गिकरण अनुसार तोके बमोजिमको क्षेत्रफलमा प्रयोगात्मक प्रशिक्षणस्थल बनाउनु पर्ने लगायतको व्यवस्था अनिर्वाय गरेको छ । तर, जिल्लामा सञ्चालित दुई वटा ड्राइभिङ्ग सेन्टर बाहेक अन्यले माथि उल्लेखित मापदण्ड कुनै पनि पुरा गरेका छैनन् ।

अनुगमन र नियामक निकाय नै चीरनिन्द्रामा
सो निर्देशिकामा अनुगमनको पनि ब्यवस्था गरेको छ । निर्देशिकाको दफा १४ मा बिभाग तथा कार्यालयले सवारीचालक प्रशिक्षण केन्द्रहरुको नियमित तथा आकस्मिक रुपमा अनुगमन गर्न सक्नेछन् । तर, नियामक निकाय यातायात ब्यवस्था कार्यालय हेटौंडा अनुगमत र नियमनमा चासो नै देखाएको छैन । अबैध रुपमा सञ्चालन छन् ड्राइभिङ्ग सेन्टर थाहा छ तर, केही गर्न र भन्न सक्दैन । मापदण्ड विपरित कुनै कार्य भएगरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिमको कारवाही तथा जरिवानाको समेत व्यवस्था छ । तर, अनुगमन नै नभएपछि जरिवानाको कुरै छोडौँ ।

अवैध ड्राईभिङ सेन्टरलाई स्थानीय सरकारको संरक्षण
सार्वजनिक सडकमा प्रशिक्षण वा अभ्यास गराउँदा सम्बन्धित यातायात व्यवस्था कार्यालयले तोकेको सार्वजनिक सडकमा तोकेको समयमा मात्र अभ्यास गर्न पाइने व्यवस्ता छ । तर, अवैध रुपमा संचालित ड्राइभिङ सेन्टरलाई हेटौंडा उपमहानगरपालिका वडा नं.८ ले प्रशिक्षण स्थाल तोकिदिएको छ । यसमा विषयमा हेटौंडा उपमहानगरपालिकाले आफ्नो स्वीकृतिमा प्रशिक्षणको लागि स्थान नतोकिएको जनाएको छ ।

दर्ता कति छन् ड्राइभिङ सेन्टर ? थाहा छैन, दर्ता चाहीँ धमाधम जारी छ
घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरलाई आफ्नो कार्यालयमा दर्ता ड्राइभिङ सेन्टरको सङ्ख्या कति छ थाहा छैन, तर दर्ता भने धमाधम गरिहेको छ । प्रहरखबर डटकमका प्रतिनिधिले ड्राइभिङ सेन्टरको बिवरण माग गर्दा १४ वटा दर्ता रहेको जनाएको थियो । विशेष सुचनाको आधारमा उक्त बिवरण गलत भएको जानकारी पाएपछि पुनः दोस्रोपटक माग गर्दा १५ वटा दर्ता भएको तथ्याङ्क उपलब्ध गरायो । तर, घरेलुले दोस्रो पटक उपलब्ध गराएको तथ्याङ्क पनि अझै अपर्याप्त छ । साथै, घरेलु कार्यालयले सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका लागु भइसकेपछि पनि दर्ता गरी सञ्चालनको लागि अनुमति दिइरहेको छ । निर्देशिका लागु भएपछि ६ वटा दर्ता गरेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

अनुगमन गरेको दाबी, कारवाही शुन्य
यातायात ब्यवस्था कार्यालय, हेटौंडाका सूचना अधिकारी राजु अर्याल अवैध सञ्चालनमा रहेका ड्राइभिङ्ग सेन्टर अनुगमन गरेको दाबी गर्छन् । तर, हेटौंडामा उनीहरुको सिकारु सवारी चलिरहेको देख्न सकिन्छ । नियामक निकाय आफूहरुले देखेपनि अबैध ड्राइभिङ्ग सेन्टर नियन्त्रण गर्न स्थानीय तह र प्रशासनको सहयोग आवश्यक पर्ने अर्याल बताउँछन् । अन्य सरोकारवाला निकायको साथ र सहयोग बिना उनीहरुलाई कारवाहीको दायरामा ल्याउन नसक्ने उनको भनाई छ ।

अबैध ड्राइभिङ्ग सेन्टरको छाता संगठन
मकवानपुरमा अबैध रुपमा सञ्चालित ड्राइभिङ सेन्टरहरु मिलेर छाता संगठन तयार गरेका छन् । सरस्वती देवी रानाभाटको अध्यक्षतामा ड्राइभिङ स्कुल संघ, हेटौँडा गठन गरेका हुन् । संघको उपाध्यक्षमा उत्तमकुमार लामिछाने, सचिव रमेशकुमार कोइराला, सहसचिव रामकुमार पौडेल, कोषाध्यक्ष छेंगु गोले चयन भएका छन् । संघको सदस्यहरुमा राधेश्याम के.सी, रीता पौडेल, सागर थापा, शंकर क्षेत्री रहेका छन् ।

हामी सहयोग गर्न तयार छौँः सहायक प्रजिअ गैह्रे
मकवानपुर सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले अवैध रुपमा सञ्चालनमा रहेका ड्राइभिङ्ग सेन्टरलाई कारवाहीको दायरामा ल्याउन यातायात कार्यालयलाई सहयोग गर्ने बताएका छन् । ‘प्रमुख नियामक निकाय यातायात कार्यालय नै हो, हामीले आवश्यक सहयोग उपलब्ध गराउने हो,’ उनले भने, ‘प्रक्रिया पु¥याएर आउनुभयो भने हामी सहयोग गर्न तयार छौँ ।’

यसको मतलब स्थानीय प्रशासन अबैध सेन्टरहरुलाई कारबाही गर्न तयार रहेपनि मुख्य नियामक निकायकै अग्रसरता नभएको देखिन्छ । सार्बजनिक यातायातको क्षेत्रमा देखिएका बिसंगती न्यूनीकरण गर्ने प्रमुख दायित्व नै यातायात ब्यवस्था कार्यालयको हो ।