प्रहर खबर
 २०८१ चैत्र १४, बिहीबार    

जबरजस्ती लैजाँदै गरेका चिनियाँ नागरिकको भिमफेदीबाट उद्धार, यि हुन् अपहरणकारी

२०८१ माघ ३, बिहीबार ०९:३३ बजे

काठमाण्डौँ– काठमाडौंको ठमेल क्षेत्रबाट जबरजस्ती चिनियाँ नागरिकलाई लैजाँदै गरेको भारतीय गाडी भिमफेदी–६ जुरीखेतमा प्रहरीले नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेमा महाराष्ट्र राज्यका आशुतोष दत्तात्रेय (३२), अमोल करमाटे (३०), अफसर सेख (४०), र अमोल श्रीसत (३३) रहेका छन्। प्रहरीले गाडीको गतिविधिमा शंका गर्दै चेकजाँच गर्दा घटना सार्वजनिक भएको हो। भारतीय नागरिकहरूले चिनियाँ नागरिकलाई अपहरण गरी भारत लैजाने योजना नेपाल प्रहरीले असफल बनाएको हो।

माघ १ गते ठमेलको नर्सिङ चोकस्थित होटल काठमाडौ स्क्वायरबाट भारतीय गाडी सवार चार भारतीय नागरिकले चिनियाँ नागरिक हुवानलाई जबरजस्ती अपहरण गरेका थिए। ठमेलको एक होटेलमा बसेका चिनिया नागरिकसँग ठगीको रकम असुल्न भारतबाट निलम्बित प्रहरीको कमान्डमा आएको टोलीले अपहरण गरेर भारत लैजाने प्रयास गरेको थियो।

अपहरणको सूचना बेलैमा प्रहरीमा पुगेपछि गम्भीर क्रस बोर्डर अपराध रोक्न सकियो। नेपाल प्रहरी प्रधान कार्यालय परिचालन कक्षको सूचनाका आधारमा मकवानपुर प्रहरीको टोलीले मंगलबार गते भारतको एमएच १६ डिजी ४९०४ नम्बरको गाडीमा सवार चार भारतीय नागरिकलाई पक्राउ गरेको हो।

चिनियाँ नागरिक अनलाइन ठगीमा संलग्न देखिएको प्रहरीले जनाएको छ ।भारतीय नागरिकहरूले चिनियाँ नागरिकलाई भारतमा ३ करोड ठगी गरेको आरोपमा पैसा फिर्ता गर्न दबाब दिएका थिए। पैसा नपाएपछि अपहरण गरी भारत लैजाने योजना बनाएका थिए।

घटना नेपालमा अन्तर्राष्ट्रिय अपराध बढ्दै गएको संकेत हो। राजधानीमै दिनदहाडै भएको यो अपहरणले नेपाललाई अन्तर्देशीय अपराधको केन्द्र बनाउन सक्ने जोखिम देखाएको छ। उनीहरूलाई नियन्त्रणमा लिइ, थप अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा जिम्मा लगाइएको छ। यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।