प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौँडा चुच्चेखोलाको मिठो खुवा, ४४ बर्षदेखि घोट्दै तिमल्सिना बुवा

२०८० असार ९, शनिबार ०२:३४ बजे

मनहरी – हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गरेका हुन् ।

उमेरले लगभग ८० वर्ष टेकिसक्नु भए पनि तिमल्सिनाको खुवा घोट्ने जोश जाँगर अझै पनि घटेको छैन । उहाँ अहिले पनि बिहान ५ बजेदेखि राति ९ बजेसम्म खुवा घोट्नमै व्यस्त हुन्छन् । खुवा घोटेर परिवार पालनपोषणसँगै तिमल्सिनाले यही पेशाबाट कमाएको रकमले आफना तीन छोरा र एक छोरीलाई अध्यापनसँगै जग्गाजमिन जोड्न समेत सफल हुनु भएको छ । इच्छाशक्ति भयो भने एउटै कामबाट पनि सफल बन्न सकिन्छभन्ने उदाहरणका रुपमा तिमल्सिनालाई लिन सकिन्छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ६ र १७ को साँधमा तिमल्सिनाको श्रीकृष्ण खुवा बिक्री भण्डार भन्ने पसल छ । अहिले कृष्णप्रसादको बिँडो माहिला छोरा बुहारीले थामेका छन् । “उमेरले नेटो काट्यो के गर्नु, पुरानो पेसा छाड्न सकिएन माया लाग्छ, त्यसैले अहिले पनि सकेसम्म आफैँ अग्रसर हुन्छु”, तिमल्सिना भन्छन् ।

पसल छोराबुहारीले सम्हालेपछि तिमल्सिनाले यही नाममा यसैको शाखा हेटौँडा बजारमा खोल्नु भएको पनि २३ वर्ष भइसकेको उनी बताउछन् । चुच्चेखोलाको व्यवसाय शुरु गरेको अहिले ४५ वर्ष भयो । जीवनको पूवाद्र्धमा दुस्खकष्ट र उकाली ओरालीहरूसँग सङ्घर्ष गर्दागर्दै अन्ततस् तिमल्सिनाले खुवा व्यवसायको पहिचान बनाए।

चुच्चेखोला अहिले खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गको सप्तरीको बरमजीयामा पाइने बाजेको पेडा जस्तै चर्चित छ चुच्चेखोलाको खुवा । तपाई जो कोही जतिबेला पनि चुच्चेखोला पुग्नु भयो भने हरेक दिन बिहानदेखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रष्ट देख्न सकिन्छ ।

सुरुमा खुवाको बारे त्यति चर्चा नभए पनि २०३८ सालतिरबाट यसले बजार पनि पाउन थालेको हो । दूधलाई कराईमा आगोले तताएर लगभग दुई घण्टा पन्युले चलाउँदै गएपछि खुवा बन्दछ । खुवा पछिल्लो समय कोसेलीका रुपमा पनि लिने गरिन्छ । यसको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रुपमा पनि पुग्ने गरेको तिमल्सिना बताउँछन् । यसले देशको अर्थतन्त्रमा पनि ठूलै हिस्सा जोडेको छ ।

गोरेटो बाटो रहेकाले उतिबेला हिँडडुल गर्नेहरुको चहलपहल खासै नभएकाले व्यापारको सुरुआती दिन सम्झिँदा तिमल्सिना भन्छन्, “त्यस समयमा खुवाको व्यापारबाट दैनिक एक किलो खुवा बेच्न पनि मुस्किल थियो ।”

आफ्नो परिश्रममा विश्वास राख्ने तिमल्सिनाले पेशाप्रतिको इमान्दारीतालाई पनि मर्न दिनु भएन भन्दै निरन्तर लागिरहे । मिहेनतमा भरोसा गर्नेले एक दिन अवश्य सुख पाउने छ भन्ने आशा राखेर उहाँले यही पेशालाई आफ्नो जीवनको उत्तराद्र्धसम्म पनि निरन्तरता दिइरहनु भएको छ । पहिला प्रतिकेजी रु १५ सम्म खुवा बेचेको उनी सम्झन्छन् । अहिले त खुवाको मूल्य प्रतिकेजी सात सय रुपैयाँ पुगेको छ ।

पहिलापहिला खुवाका लागि दैनिक १० लिटर दूध घोट्ने तिमल्सिना पछिल्लो एक दशकयता दैनिक दुई सय लिटरसम्म दूध घोट्ने गर्छन। खुवाको लागि भैंसीको दूध चाहिने भएकाले पछिल्लो समय भैँसीपालनमा भन्दा बढी गाईपालनमा कृषकहरु आकर्षित भएपछि खुवाको लागि भैँसीको दूध जुटाउन तिमल्सिनालाई निकै समस्या आइपरेको छ ।

छोराबुहारीले विभिन्न गाउँबाट मगाउँछन् अहिले पनि दैनिक चार सय लिटरसम्म दूध खरिद गरी खुवा घोट्ने काम भइरहेको उ््नी बताउँछन् । चार लिटर दूध बराबर एक किलो खुवा उत्पादन हुने हुँदा तिमल्सिनाको पसलमा दैनिक ७५ किलोसम्म खुवा उत्पादन हुने गर्दछ । उनले पसलबाटै प्रतिकेजी सात सय रुपैयाँमा खुवा बेच्नछन् । यही व्यवसायबाट दैनिक खर्च कटाएर मासिक लाखौँ रुपैयाँ आम्दानी हुने गरेको उनको भनाई छ ।

तिमल्सिनाको फरक पेशाले साँच्चै नै व्यावसायिक क्रान्ति छर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् तिमल्सिना । अहिले त हेटौँडाको चुच्चेखोलामा मात्र लगभग दर्जनभन्दा बढी खुवाका पसलहरू छन् ।

तिमल्सिना मात्र होइन, यही पेशाबाट उनका छिमेकी श्यामकुमार मानन्धरले पनि आफूलाई सफल खुवा व्यवसायीका रुपमा परिचित गराएका छन्। विगत २४ वर्षदेखि चुच्चेखोलामा मानन्धरले खुवा बेच्दै आएका छन् । मानन्धरको आफ्नै कृष्ण कन्हैया खुवा भण्डार पनि छ ।

उनको भण्डारमा ग्राहकहरुको बाक्लो भीड लाग्ने गरेको देख्न सकिन्छ । विसं २०५६ तिरबाट खुवा बनाउन सुरु गरेका मानन्धरले अहिले खुवा बेचेर फुर्सद पाउँदैनन् । दैनिक १५० लिटर दूध खपत गरेर २० किलोभन्दा बढी खुवा बनाउने गरेको मानन्धर बताउँछन् ।

यस स्थानमा लहरै रहेका झण्डै दर्जनभन्दा बढी खुवा पसल सञ्चालनमा छन् । स्थानीय कृषक तथा डेरीबाट दूध किनेर खुवा बनाउने गरेको बताउदै मानन्धरले खुवाको प्रचार हुँदै जाँदा अहिले पसलको खुवा हेटौंडामा मात्रै नभई पोखरा वीरगञ्ज, चितवन, जनकपुर काठमाडौंसम्म पुग्ने गरेको बताउँछन् । मानन्धरले पनि खुवाकै व्यापारबाट मात्र अहिले मासिक एक लाख आम्दानी आएका छन् ।

यहाँ खुवा सबैैले देख्ने गरी बनाइन्छ । मीठो बास्नाकै कारण कान्तिलोकपथ हुँदै यात्रा गर्ने यात्रुहरु खुवा स्वाद चाखेर जाने गर्दछन् । चुच्चेखोलाको खुवाको चर्चा धेरै सुन्ने गरेको तर आज कान्तिलोकपथ भएर यात्रा गर्ने क्रममा खुवा चाख्ने मौका मिल्यो रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने औधेस चौधरीले बताए । चौधरीले आफू तराईको बासिन्दा भए पनि खुवा चाख्ने मौका मिलेको र यहाँको खुवाका स्वाद निकै स्वादिष्ट भएको प्रतिक्रिया दिए । यस पेशाबाट आफूले घर व्यवहार चलाएको र जग्गा पनि किनेको बताउदै मानन्धरले आफू यस व्यवसायबाट सन्तुष्ट रहेको बताए ।

मानन्धरसँगै रहेको लक्ष्मीनारायण खुवा पसलका सञ्चालक ६६ वर्षीय सोमनाथ तिमल्सिना पनि खुवा व्यवसायबाटै चर्चामा छन् । सोमनाथले यो काम थालेको ३५ वर्ष बढी भयो । यही पेशाबाट सोमनाथले परिवार धन्ने गरेका छन् ।

उनको पनि दैनिक दाउरा, दूध खरिदको खर्च कटाएर मासिक लाख रुपैयाँ बच्ने गरेको बताउँछन् । सोमनाथकोे पसलमा उत्पादन हुने खुवा पोखरासम्म पुग्छ । दैनिकरुपमा बसमार्फत पोखरामा खुवा पठाउने गरिन्छ । हेटौँडा बाहिरका मिठाइ व्यवसायी र होटलहरुले चुच्चेखोलाको खुवा लैलाने गर्दछन् ।

अहिले भैँसी पाल्ने कृषकहरु घटेका छन् । भैंसीको दूध पाउन मुस्किल छ । पछिल्लो समय उन्नत जातका गाई पाल्ने क्रम बढ्दै आएपछि खुवा व्यवसायीहरुले चनाखो हुन बाध्य हुनुपरेको छ । भैँसीले गाईको तुलनामा कम दूध दिने भएकाले पनि कृषकहरुले भैंसी पाल्न छाडेको खुवा व्यवसायीहरु बताउँछन् ।

एउटा भैँसीको लगभग लाख रुपैयाँसम्म पर्दछ । किसानले यति ठूलो खर्च गर्न सक्दैनन् । त्यसैले यहाँका खुवा व्यवसायीले किसानलाई स्थानीय सहकारीमार्फत ऋण लिएर त्यसबाट भैँसी किन्न उत्प्रेरित गर्ने अनि भैंसी किनेका किसानले सम्बन्धित खुवा पसलमै दूध बेच्नेले गर्दा खुवा पसलहरु पनि टिकिरहेको देख्न सकिन्छ । दूध खुवा पसलले प्रतिलिटर ९० रुपैयाँमा भैँसीको किन्ने गर्छन् ।

पछिल्लो समय खुवा व्यवसाय निकै फस्टाएको छ । यो पेशामा आकर्षित हुनेहरुको सङ्ख्या पनि बढिरहेको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले केही खुवा व्यवसायीहरुका लागि उपमहानगरले खुवा घोट्ने मेसिन अनुदान दिएको बताइन् । खुवा घोट्न हात चलाइरहनुपर्ने भएकाले सहजताको लागि उपमहानगरले पछिल्लो प्रविधिको मेशिन दिएको उनले बताइन् । चुच्चेखोलालाई खुवाको ‘हब’ बनाउन नयाँ किसानहरुलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्न उपमहानगर प्रतिवद्ध रहेको बताइन् ।