हेटौंडा – बागमती प्रदेशमा विभिन्न घटनामा परी बुधबार एकैदिन ६ जनाको मृत्यु भएको छ । मकवानपुरमा तीन, चितवनमा दुई र रामेछापमा एक जनाको मृत्यु भएको हो ।
मकवानपुरको बकैया गाउँपालिका–१२, खोरभञ्ज्याङमा शिवम सिमेन्ट फ्याक्ट्रीको ढुङ्गा बोक्ने ना ८ ख ५३३५ नम्बरको टिपर दुर्घटना हुँदा चालक मकवानपुरगढी गाउँपालिका–२, अदुवाखर्क बस्ने अन्दाजी २७र२८ वर्षीय चन्द्र योन्जनको मृत्यु भएको छ । टिपर आफैँ अनियन्त्रित भएर सडकबाट अन्दाजी ८००र९०० मिटर तल खोल्सामा खसेको थियो ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा नवलपुरबाट हेटौंडातर्फ आउदै गरेको मधेश प्रदेश ०३(००१ च ६९४३ नम्बरको गाडीको ठक्करबाट हेटौंडा–१४ नयाँबस्ति बस्ने अन्दाजी ५० वर्षीया सान्ति माया मोक्तानको मृत्यु भएको छ ।
मकवानपुरकै भिमफेदी गाउँपालिका–४, ठुलो गुन्डेङमा ना २ ह ४६८९ नम्बरको अटो दुर्घटना हुँदा चालक भिमफेदी गाउँपालिका–२, भैँसे बस्ने अन्दाजी ६५ वर्षीय सुब्बा बज्यु तामाङको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बुधबार दिउँसो ठुलो गुन्डेङस्थित भित्री सडकखण्डमा सानो गुन्डेङबाट भैँसे तर्फ आउदै गरेको अटो अनियन्त्रित भई सडकबाट अन्दाजी ८०र९० मिटर तल खोल्सीमा खसेर दुर्घटना भएको थियो ।
चितवनको कालिका नगरपालिका–१०, नम्दीमा भीरबाट लडेर स्थानीय अन्दाजी ३०र३२ वर्षीया लमाया चेपाङको मृत्यु भएको छ । लडेर घाईते भएकी उनको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवनकै खैरहनी नगरपालिका–१२, सिसनियामा करेन्ट लागेर हेटौंडा–१९ बस्तीपुर बस्ने अन्दाजी ४३ वर्षीय दीपक लामिछानेको मृत्यु भएको छ । आफ्नै दिदीको घरमा पानी तान्ने मोटरको तारमा अचानक छुन पुग्दा करेन्ट लागेर घाइते भएका लामिछानेको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै रामेछाप उमाकुण्ड गाउँपालिका–१, क्यामा घाँस काट्ने क्रममा रूखबाट लडेर स्थानीय ५५ वर्षीय पदम बिकको मृत्यु भएको छ । घर नजिकै सामुदायिक वनमा घाँस काट्ने क्रममा रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।