मकवानपुर – मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा खुकुरी देखाएर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न भएको आरोपमा असमिन चौलागाई (२०) र अनिस चौलागाई (२०)लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रहरीका अनुसार, २० वर्षीय मनिष फुयाल र २४ वर्षीय सुजन पौडेललाई खुकुरी देखाएर सुन जस्तो देखिने १ तोलाको पहेलो धातुको सिक्री लुटपाट गर्ने क्रममा पक्राउ परेका चौलागाई दाजुभाइलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको हो।
प्रहरीले लुटपाटमा प्रयोग भएको धारिलो हतियार खुकुरी र लुटिएको पहेलो धातुको सिक्रीसहित दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ। घटनामा संलग्न आरोपितहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट चार दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जनाइएको छ।
यो घटनाले हेटौंडा क्षेत्रमा सुरक्षा व्यवस्थाको चुनौती थपिएको भन्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको जनाएको छ।