हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटना भएको छ। वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्र।२–०३–००१ख ६७३८ नम्बरको मोबिल लोड भएको कन्टेनर लहरी अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा लहरी चालक मकवानपुर, मनहरी गाउँपालिका–६ निवासी ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको छ। तत्कालै उपचारका लागि उनलाई हेटौंडा अस्पताल पठाइएको छ। हाल घाइते मोक्तानको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाका कारण राजमार्गको दुबैतर्फ यातायात अवरुद्ध भएको थियो। घटनालगत्तै प्रहरी परिचालन गरी क्रेनको सहायताले सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
दुर्घटनाको कारण भने हालसम्म खुलेको छैन। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ।

