हेटौंडा – हेटौंडाका १० जना साइकलयात्री केरुङ–ठोरी (उत्तर–दक्षिण) देशको सीमानाकाको साइकलयात्रामा निस्केका छन् । हिमालयन राईडर्स सोसाईटीको संयोजकत्वमा आइतबारदेखि रसुवाको केरुङ नाका बाट साइकलयात्रा सुरु गर्न लागिएको हो । सोसाइटीका अध्यक्ष चेतनाथ आचार्यको संयोजकत्वमा १० जनाको टोली शनिबार केरुङतर्फ गएको छ ।
टोलीमा सोसाइटीका उपाध्यक्ष एबम् नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष भानुभक्त आचार्य पनि सहभागी भएका छन् । त्यस्तै सोसाइटीका महासचिव एबम् ईन्जिनियर सागर पन्थी, सचिव राजु रानामगर, कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, सदस्यहरु बुद्धिबहादुर आले, बुद्धराम श्रेष्ठलगायत छन् । त्यस्तै गरी शैलेश दुतराज पनि टोलीमा सहभागी छन् । टोलीमा सिमराका ३ जना साइकलयात्री पनि सहभागी भएको संयोजक आचार्यले जानकारी दिए । बारा राइडर्स संघका कोषाध्यक्ष रामेश्वर बास्कोटा, सदस्य हरेराम आचार्य र रामहरि सुबेदी सहभागी छन् ।

बिश्वब्यापी रुपमा बढ्दै गएको ग्लोवल वार्मिङ, पेट्रोलियम पदार्थको मूल्यबृद्धि, नेपालको चुलिंदो ब्यापारघाटा, दैनिक उपभोग्य बस्तुमा तीब्र मिसावटका कारण बिग्रँदो जनस्वास्थ्य आदि कुरामा प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने साईकललाई दैनिकी बनाउने अभियानका साथ साइकलयात्रा सुरु गर्न लागिएको टोलीका सदस्य आचार्यले बताएका छन् ।
आइतबार रसुवाको केरुङ नाकाबाट सुरु हुने साइकलयात्रा नुवाकोटको त्रिशुली, धादिङ, चितवनको नारायणगढबाट माढी हुँदै ठोरीसम्म गरिने भएको छ । टोली पर्साको ठोरीबाट बीरगंज हुँदै हेटौंडा फर्कने बताइएको छ । करिब ४ सय किलोमिटरको यात्रा ५ दिनमा पुरा गरिने टोलीले जानकारी दिएको छ । यसका लागि मकवानपुर उद्योग वाणिज्य संघले ५ वटै जिल्ला उद्योग वाणिज्य संघलाई समन्वयका लागि पत्राचार गरेको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिए ।
