प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरगढीका क्रसरले तिरेनन् राजस्व, करिब डेढ करोड उठ्न बाँकी

२०७९ असार २५, शनिबार १३:५१ बजे


हेटौंडा – राजस्व समयमानै नबुझाएको भन्दै मकवानपुरगढी गाउँपालिकाले क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रमा ताला लगाएको छ । गाउँपालिकाले प्रहरी परिचालन गरी तीन क्रसर उद्योग र दुई बालुवा प्रशोधन केन्द्रमा शनिबार ताला लगाएको हो ।

गाउँपालिकाका अनुसार राजस्व नबुझाउने मकवानपुरगढी गाउँपालिका वडा नं.२,५ र ६ मा सञ्चालनमा रहेको पाँच वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र रहेका छन् । उनीहरुले गतबर्षको सहित करिब डेढ करोडको हाराहारीमा गाउँपालिकालाई राजस्व बुझाउनु बाँकी रहेको योजना शाखाका प्रमुख प्रकाश न्यौपानेले बताए ।

उक्त क्रसर तथा बालुवा प्ल्यान्ट ब्यवसायीहरुले गतबर्षकै नदिजन्य पदार्थ उत्खनन् गरेको करिब एक करोड राजस्व बुझाउन बाँकी थियो । बाँकी रहेको राजस्व असार १५ गते बुझाउने गरी गाउँपालिका र क्रसर ब्यवसायीबिच सहमती भएको थियो । त्यसपछि गाउँपालिकाले क्रसरलाई ग्राभेल उत्खनन् गर्न समेत दिएको थियो ।

पालिकालाई बुझाउनुपर्ने राजस्व समयमा नबुझाएपछि पालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन, अध्यक्ष, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी सहितको टोलीले क्रसर उद्योग र बालुवा प्ल्यान्टमा ताला लगाएको हो ।उद्योगले सहमति भएको हप्ता दिन वित्दा समेत राजस्व दाखिला नगरेपछि ताला लगाउन बाध्य भएको उपाध्यक्ष पाख्रीनले बताइन् । राजस्व दाखिला गरेमात्रै उद्योग सञ्चालन गर्न दिने उनको भनाइ छ ।