हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार लोकबहादुर मुक्तान ४ हजार ८९७ र उपाध्यक्षमा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बालकुमार मल्ल ४ हजार ८८ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।
सोमबार बिहान सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेका नरेन्द्रलाल रिजाललाई मुक्तानले ८०४ मतान्तरले पराजित गरेका हुन् । रिजालले ४ हजार ९३ मत पाए ।
त्यस्तै उपाध्यक्षमा मल्लले ४ हजार ८८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी सुकुमाया थिङले ३ हजार ९ सय ३७ मत पाइन् । १४ हजार ५८६ मतदाता रहेको कैलाश गाउँपालिकामा १० हजार ८६५ मत खसेको थियो । यसअघि २०७४ सालको निर्वाचनमा कैलाशमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षमा जीतेको थियो ।
यससंगै मकवानपुरको तीन गाउँपालिकाको नतीजा सार्वजनिक भइसकेको छ । यसअघि ईन्द्रसरोवर र भीमफेदी गाउँपालिकाको नतीजा सार्वजनिक भएको थियो । ईन्द्रसरोवरमा नेकपा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी र उमा दाहाल अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए । भीमफेदीमा नेकपा एमालेका हिदम लामा र नेपाली कांग्रेसका सन्जीव श्रेष्ठ अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।