हेटौंडा – छैठौं संस्करणको गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामा उपाधी मकवानपुर ११ ले जितेको छ ।
सिराहाको गोलबजारमा भएको फाइनल खेलमा घरेलु टोली सहलेस युवा क्लव सर्लाहीलाई ३–० ले हराउँदै मकवानपुरले उपाधी जितेको हो ।
मकवानपुर ११ लाई उपाधि दिलाउनका लागि समिर तामाङ, अभिषेक लामा र सुजन गुरुङले गोल गरे ।
खेलको ८ औं मिनेटमा समिरले गोल गर्दै मकवानपुरलाई १–० अग्रता लिएका थिए । पहिलो हाफको अतिरिक्त समयमा अभिषेक लामाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
मकवानपुरका लागि तेस्रो तथा अन्तिम गोल सुजन गुरुङले गरे । उनले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै मकवानपुरलाई ३–१ को शानदार जित दिलाएका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच मकवानपुरका समिर तामाङ भए । उनले नगदसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको विजेता मकवानपुर ११ ले २ लाख ५१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उता उपविजेता सहलेसले नगद १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीतर्फ मकवानपुरका प्रितम स्याङ्बो सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै सुदिप सापकोटा उत्कृष्ट डिफेण्डर, समिर तामाङ उत्कृष्ट फरवार्ड, गोपी बर्तौला उत्कृष्ट गोलरक्षक, अभिषेक लामा सर्वाधिक गोलकर्ता र मकवानपुरका विजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए ।
विधागत उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकले नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
तस्बीर: गोल नेपालबाट