हेटौंडा – स्थानीय–तह निर्वाचन–२०७९ अन्तर्गत मकवानपुरमा पाँच जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा नेकपा एमालेबाट चार र नेकपा माओवादी केन्द्रबाट एक जना रहेका छन् ।
जिल्लाको इन्द्रसरोबर गाउँपालिका दुई, थाहा नगरपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा एक–एक जना गरी कुल पाँच जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
इन्द्रसरोबर गाउँपालिका वडा नं. १ मा दलित महिलातर्फ एमालेबाट लक्ष्मी दमाई र वडा नं. ४ मा सावित्री सुनारको एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिए । त्यस्तै थाहा नगरपालिका वडा नं.५ मा दलित महिलातर्फ एमालेबाट उर्मिला कामीको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत तीर्थराज भट्टाराईले जानकारी दिए ।
उता बागमती गाउँपालिका वडा नम्बर ३ मा दलित महिलातर्फ माओवादी केन्द्रबाट बिष्णु मायाँ बि.क.को मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत हरि प्रसाद उपाध्यायले बताए । यता मकवानपुरगढी गाउँपालिकाका निर्वाचन अधिकृतका अनुसार गाउँपालिकाको वडा नं. ७ मा दलित महिलातर्फ एमालेबाट तिर्थ कुमारी ल्वाहगुनको मात्रै उम्मेदवारी परेको छ । उनहरूको निर्विरोध घोषणा स्थानीय तह निर्वाचन कानुनबमोजिम हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार भएको मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, जसपा नेपाल, मङ्गोल अर्गनाइजेशन लगायतका दल एवं स्वतन्त्र उम्मेदवारसमेत रहेका छन् ।
जिल्लामा एक उपमहानगर, एक नगर र ८ पालीका गरी १० स्थानीय तह रहेका छन् । प्रमुख, उप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पदका लागि कूल २ हजार ३५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।