हेटौंडा – राजनीतिक खिचातानीका कारण रोकिएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा हुने भएको छ । नेकपा एमाले र गठबन्धनका जनप्रतिनिधिबिच तीन बुँदे सहमतिपछि उपमहानगरको नगरसभा तथा ११ औँ अधिवेशन दिउँसो बजे हुने भएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नं.१५ का वडाअध्यक्ष सुनिल मोक्तानले आफुहरुको मागको विषयमा नगर प्रमुख, उपप्रमुखसंग तीन बुँदे सहमति भएको बताए । कार्यपालिका बैठक संचालन कार्यविधिको दफा १५९२० र १५ ९३० को बुँदा संशोधन प्रस्ताव नगरसभापछि कानुनी परामर्श गरि प्रक्रिया अगाडि बढाउने, विषयगत समितिहरू सहमतिको आधारमा निर्माण गर्ने र बजेट निर्माणमा सामुहिक छलफलबाट टुङ्गो लगाउने सहमति भएको वडाअध्यक्ष मुक्तानले बताए ।
सहमति भएसँगै शनिबार स्थगित भएको नगरसभा हेटौंडास्थित हाेटल एभाेकार्डाेमा बजेबाट सुरु हुने जनाइएको छ । यसअघि एमालेका जनप्रतिनिधिहरुले आफुहरुसंग कुनैपनि छलफलनै नगरिकन एकलौटी ढंगले नीति कार्यक्रम तथा बजेट ल्याउन लागेको भन्दै नगरसभा बहिष्कार गरेका थिए ।
उपमहानगरका २९ जना कार्यपालिका सदस्यमध्ये १७ जना एमालेका रहेका छन् । नेपाली कांग्रेसको ९, नेकपा एसको दुई र माओवादी केन्द्रको एक रहेको छ । त्यस्तै ९७ जना नगरसभा सदस्यमध्ये ५४ जना एमालेका छन् । हेटौंडा उपमहानगर आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।