प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

एक महिलालाई बन्धक बनाएर लुटपाट, मकवानपुरका एक युवकसहित ५ जना पक्राउ

२०७९ श्रावण १४, शनिबार १५:०२ बजे

हेटौंडा – खाजा पसल सञ्चालिकालाई बन्धक बनाएर लुटपाट गर्ने र लुटेको सामान किन्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका २४ वर्षीय उत्तम तामाङ, काठमाडौँको गोकर्णेश्वर घर भएका २२ वर्षीय भूपाल श्रेष्ठ, सिन्धुपाल्चोक घर भएका २४ वर्षीय कबिरजंग कुँवर र २२ वर्षका कल्याण कुमार सुवेदी रहेका छन् ।

उनिहरुले काठमाडौँको चाबहिलमा खाजा पसल चलाएर बस्ने ५३ वर्षीया सुनसरीको धरान उपमहानगरपालिका–१० घर भएकी भीम कुमारी लिम्बुलाई लुटपाट गरेका हुन् । साउन ८ मा बिहान ३ बजे कुकुरलाई दिशा गराउन खाजा पसलको सटर खोल्ने क्रममा होटलमा अचानक प्रवेश गरेका चार–पाँच जना युवाहरूले भीम कुमारीलाई हात, खुट्टा र मुखमा टेपले बाँधेर लुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए ।

प्रहरीका अनुसार उनिहरुले भीमकुमारीको साथबाट सुनको सिक्री, कुण्डल, औँठी र नगद कुटपिट गरेका थिए । सिन्धुपाल्चोकको तौथली घर भई चाबहिल बस्ने ४५ वर्षीय बुनु श्रेष्ठले लुटेको सुनको सिक्री किनेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको र उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटिएको २२ हजार नगद, सुनको कुण्डल र औँठी लगायतका सामान बरामद गरेको छ । घटना बिषयमा आवश्यक अनुसान्धन भइरहेको प्रहरीले जनाएको छ ।

रातोपाटीको सहयोगमा