प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यातायात ब्यवसायी उपभोक्ता सहकारीको १५ औं वार्षिक साधारणसभा

२०८१ बैशाख २९, शनिबार १४:५४ बजे

हेटौंडा – १५ वर्षअघि यातायात ब्यवसायीले आफ्ना सवारी साधनमा आवश्यक पर्ने स्पेयर पार्टस् र ईन्धन उपभोग गर्ने गरी स्थापना गरेको सहकारीको १५ औं वार्षिक साधारणसभा शनिबार भएको छ ।

यातायात ब्यवसायी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष किरण पौडेलको सभाध्यक्षतामा भएको साधारणसभामा आर्थिक मन्दीका कारण यातायात ब्यवसायी संकटमा परेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि यातायात ब्यवसायी महासंघका अध्यक्ष हीरालाल श्रेष्ठले यातायात ब्यवसायीलाई परेको संकटका बारेमा सरकारसँग छलफल भइरहेको बताए । भारतीय ट्रकले नेपालमा सामान ओसारपसार गरिरहेको तर, नेपाली लगानीकर्ताको ट्रक काम नपाएर खाली बस्नु परेको कारण बैंक ब्याज, मर्मत, ईन्धनको भुक्तानी गर्न नसकेको श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यले पछिल्लो समय धेरै यातायात ब्यवसायी पलायन भइरहेको बताउँदै ब्यवसायीहरु संगठित भएर राज्यसँग ब्यावसायिक अधिकारका लागि लड्न सुझाव दिए । संस्थाका संचालक सदस्य बिष्णुहरि बिडारी, सेयर सदस्य देवनारायण लामिछाने ‘भीमसेन’ले सहकारी संस्थाले गर्ने कारोबारको दायरा फराकिलो बनाउँदै जानुपर्ने बताए ।

५ करोड ३७ लाख रुपैयाँ सेयरपूँजी रहेको सहकारीले हेटौंडा–१० मा सवारी साधनका लागि आवश्यक स्पेयर पार्टस् र हेटौंडा–११ नवलपुरमा पेट्रोल पम्प संचालन गरिरहेको छ । संस्थाका अध्यक्ष पौडेलले सहकारीको बक्यौता करिब ४ करोड रुपैयाँ रहेका कारण चालुपूँजीको अभाव हुन थालेको र आर्थिक मन्दीका कारण ब्यवासय चलायमान हुन नसकेको बताए ।

सहकारीका सचिव सुनिलकुमार न्यौपाने र कोषाध्यक्ष कुमार बर्तौलाले दुबै प्रतिबेदन प्रस्तुत गरेका थिए । सहकारीका सचिव न्यौपानेले दिएको राजीनामा स्वीकृत गरी बन्दसत्रले सचिव चयन गर्ने बताइएको छ ।

सहकारीले हेटौंडा–११ मा संचालन गरेको पेट्रल पम्पले एक वर्षको अवधिमा करिव ४३ लाख रुपैयाँ र मोटरपार्टस् पसलतर्फको एक करोड सात लाख रुपैयाँ नोक्सान रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

करिव डेढकरोड रुपैयाँ नोक्सानमा रहेको, अवकाश प्राप्त कर्मचारीको उपदान, औषधिउपचार, सञ्चित बिदा जस्ता शीर्षकमा भुक्तानी दिई बिदा गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।फाइल तस्बीर