हेटौंडा – राँके जुलुस सहितको सरकारविरुद्धको प्रर्दशनसंगै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहनले बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य सडक साँझ परेपछि तनाव श्रृजना हुने गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लगायत पार्टीका कार्यकताको आक्रमक राँके जुलुससहितको प्रर्दशनले हेटौंडाको मुख्य सडक तनावग्रस्त जस्तै बन्ने गरेको हो ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै दिन नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । सोही नागरिकता विधेयक प्रमाणीकरण खारेजको माग सहित विभिन्न नेता तथा कार्यकताहरु हेटौंडाको बुद्धचोक, सिमाचोक, संगम चोक लगायत स्थानमा सरकार विरोधी नाराबाजी सहित प्रर्दशन गर्ने गरेका छन् ।

प्रर्दशन बुधबारदेखि नै जारी छ । बुधबार नेकपा एमाले निकट विद्यार्थी संङ्गठनले हेटौंडाको बुद्धचोकमै राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डको पुत्ला जलाएका थिए भने राप्रपाका कार्यकताले पनि राँके जुलुस प्रर्दशन गरेका थिए । राँके जुलुसको क्रममा आगो बाल्ने प्रर्दशनकारी र आगो निभाउने प्रहरीबीच रस्साकस्सी नै हुन्छ ।
साँझ परेपछि हुने सरकारविरोधी प्रर्दशनले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन चाकलले बैकल्पिक बाटो रोज्नु पर्ने बाध्यता छ । त्यस्तै विरोधको क्रममा निस्किने चर्को आवाजले ध्वानी प्रदुषणसंगै बालिएको टायरले वातावरण समेत प्रदुषित भएको छ ।
यसअघि एकपटक फिर्ता भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रघाती काम गरेको प्रर्दशनकारीहरुको आरोप छ । पछिल्लो समय बनेको गठबन्धन सरकारले एकपछि अर्को राष्ट्रघाति निर्णयहरु गर्दै आएको उनीहरुको भनाई छ । प्रधानमन्त्री भ्रमण जानुपूर्व भारतलाई खुशि बनाउन नागरिकता विधेयक प्रमाणिकरण गरेको समेत उनीहरुको दाबी छ ।