हेटौंडा – ‘घरघरमा एमाले, मनमनमा एमाले’ भन्ने अभियान सहित बागमती गाउँपालिकामा नेकपा एमाले आउँदो स्थानीय चुनावको लागि तयारीमा जुटेको छ । नेकपा एमाले बागमती गाउँपालिका कमिटीले गाउँपालिका स्तरीय प्रशिक्षण तथा कार्यकता कार्यक्रम आयोजना गरी चुनावको तयारी जुटेको हो ।
नेकपा एमाले बागमती गाउँ कमिटीका अध्यक्ष चन्द्र बहादुर राईको अध्यक्षता भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा मकवानपुरका सह–इन्चार्ज कृष्ण प्रसाद दहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य दहालले आउँदो चुनावमा आफ्नो उम्मेद्वारलाई जिताउनका लागि जुट्न आग्रह गरे । उनले ‘घरघरमा एमाले, मनमनमा एमाले’ भन्ने अभियानलाई भोली देखिनै सुरु गर्न कार्यकताहरुलाई निर्देशन दिए ।
आउँदो स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै गाउँपालिकाको १ देखि ९ सम्मका वडाका पार्टीका सदस्य तथा कार्यकताहरुलाई प्रशिक्षण दिइएको नेकपा एमाले जिल्ला कमिटी सदस्य राजकुमार तिमल्सिनाले बताए । गाउँपालिकाका १ देखि ९ सम्मका वडाका पार्टीका सदस्य तथा कार्यकताहरु ‘घरघरमा एमाले, मनमनमा एमाले’ भन्ने अभियानमा लाग्ने तिमल्सिनाले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस, माओवादी र राप्रपा परित्याग गरी ९८ जना एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा एमाले केन्द्रिय सदस्य कृष्ण दहालले स्वागत गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य कमल विष्ट, पद्मा पौडेल, अणराज जर्गा मगर, क्षिरिङ्ग पाख्रिन, जिल्ला कमिटी सदस्य जय बहादुर वाइबा, यम जर्गा मगर, कमल राई, मंगल रखाल लगायतको उपस्थिती रहेको थियो ।