प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सहकारिताबाट नागरिकको आर्थिक समुन्नती: बागमती प्रदेश प्रमुख शर्मा

२०७९ चैत्र २०, सोमबार ०४:१२ बजे

मकवानपुर – आज सोमबार नेपालमा मनाइँदै गरिएको ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गरेका छन् ।

वि.स.२०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको स्मरण गर्दै नेपालमा राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।

प्रमुखले ‘सबैका लागि एक र एकका लागि सबै भन्ने मूल ध्येय लिई सञ्चालित सहकारीमा संलग्न सबैमा यस अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

प्रदेश प्रमुखको शुभकामना सन्देशमा समुदायमा छरिएर रहेको पुँजी, प्रविधि र प्रतिभालाई एकीकृत गरी सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।

शर्माले आर्थिक वृद्धि र दिगो विकास गर्न सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकासमार्फत उपलब्ध साधन एवं स्रोतको अधिकतम् परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई तीन खम्बे अर्थ नीति मध्येको एक खम्बा मानिएको बताएका छन् ।

संघ प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा राखी यसको विकास, नियमन तथा प्रबर्धनका कार्यमा जोड दिईएको समेत प्रमुखले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

यो कुरा खुशीको विषय भएको प्रमुख शर्माको भनाई छ। ‘यसबाट हाम्रो देशमा सहकारी कार्यक्रमहरुको समुचित उत्थान भइरहेको छ र यो खुशीको विषय हो ।’ शुभकामनामा भनिएको छ ।

आर्थिक क्षेत्रमा रहेका असमानताहरूमाथि हस्तक्षेपकारी भूमिका खेल्दै नागरिकहरूको आर्थिक समुन्नतीमा सहकारिताबाट सघाउ पुग्नुपर्नेमा प्रमुख शर्माको जोड छ ।

अझ दुर्गम क्षेत्रका विपन्न वर्गलाई यस अभियानमा समेटी उनीहरुलाई विभिन्न स्वरोजगारका अवसर सिर्जना गराउँन यसका अभियन्ताहरू निरन्तर लागिपर्नु आवश्यक देखिएको शर्माले उल्लेख गरेका छन् ।

उनले सहकारी संस्थाहरु पनि वित्तीय अनुशासन पालना गर्दै समुदायमा आधारित,सदस्य केन्द्रित र यसको मूल्य मान्यता,सिद्धान्त र मर्म अनुरुप अघि बढेमा सहकारी अभियान थप सार्थक बन्ने विश्वास व्यक्त गरेका छन् ।