हेटौंडा – चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा बागमती प्रदेशका उपत्यकाका जिल्ला बाहेक १० जिल्लामा भएको सवारी दुर्घटनामा १४२ जनाको मृत्यु भएको छ भने १ हजार ४२३ घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार चालुआवको गएको पाँच महिनामा ६३९ वटा सवारी दुर्घटनामा १४२ जनाको मृत्यु भएको हो ।दुर्घटनामा सबैभन्दा बढी दुई पाङ्ग्रे मोटरसाईकल र स्कुटर पर्ने गरेको बागमती प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए । क्रमशः जिप–कार, ट्रक, ट्यांकर, बस, टेम्पो, माईक्रो, ट्रेक्टर, टिपर दुर्घटनामा पर्ने गरेको उनले बताए ।
यान्त्रीक, सडकको भौतिक अवस्था, मानविय, वातावरणीय लगायतका कारण सवारी दुर्घटना हुने गरेको प्रवक्ता रेग्मी बताउँछन् । सवारी दुर्घटनाको कारण विश्लेषण गर्दा अधिकांश दुर्घटना मानवीय त्रुटिको कारण हुने गरेको उनले दाबी गरे ।
दुर्घटना न्यूनिकरणका लागि प्रदेशका बिभिन्न जिल्लामा १६७ वटा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरिएको रेग्मीले बताए । उनले २ हजार ८४२ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको बताए ।
बागमती प्रदेश प्रहरी कार्यालयले तिब्र गतिमा सवारी चलाउँदा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि मकवानपुर, सिन्धुली, चितवन, काभ्रे र धादिङ जिल्लामा टायम कार्ड लागु समेत गरेको छ। कार्यलयका अनुसार १० जिल्लाका बिभिन्न ४२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा छन् । पाँच महिनाको अवधिमा ट्राफिक नियम उल्लंघनबाट ९ करोड ३१ लाख ८१ हजार ५०० रुपैयाँ जरिवाना राजश्व संकलन गरिएको कार्यालयले जनाएको छ ।